चितवन । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले स्थापनाको १० वर्षमा ७०.२५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जनाएको छ। यस अवधिमा ५६ अर्ब ३५ करोड ९२ लाख रुपैयाँ विनियोजन भएकामा ३९ अर्ब ५८ करोड ८० लाख रुपैयाँ खर्च भएको छ।
कार्यक्रममार्फत हालसम्म २३ लाख ८३ हजारभन्दा बढीले प्रत्यक्ष तथा आंशिक रोजगारी पाएको कार्यक्रम निर्देशक हिक्मतकुमार श्रेष्ठले जानकारी दिए। कार्यक्रमअन्तर्गत २१ सुपरजोन, २०६ जोन, एक हजार ६९९ ब्लक र ९ हजार ३९३ पकेट क्षेत्र सञ्चालनमा छन्।
कृषि यान्त्रीकरणतर्फ ७६ हजारभन्दा बढी उपकरण वितरण तथा ६२६ कस्टम हायरिङ सेन्टर स्थापना गरिएको छ। यस्तै ९ हजार २३६ हेक्टरमा चक्लाबन्दी खेती विस्तार गरिएको कार्यक्रमले जनाएको छ।
समीक्षा गोष्ठीमा कृषि, पशुपन्छी तथा वातावरणमन्त्री गीता चौधरीले कार्यक्रमको प्रगति सन्तोषजनक रहेको बताउँदै कृषि उत्पादन, रोजगारी र आयात प्रतिस्थापनमा कार्यक्रमले योगदान गरेको उल्लेख गर्नुभयो ।

