काठमाण्डौ । सरकारले आउँदो भदौ एक गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन तथा आयात र बिक्री वितरण गरेको पाइएमा कारबाही गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले सूचना निकालेर ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको प्रयोग नगर्न आग्रह गरेको छ ।
सरकारले २०७८ साल असोज १९ मा राजपत्रमा सूचना निकालेर ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाएको थियो । तर अहिले पनि बजारमा यस्ता प्लास्टिक झोलाको बिक्री तथा प्रयोग हुँदै आएको छ ।
विगतमा कोरोना महामारीका कारण अनुगमन हुन नसकेको तर अब भदौ एक गतेदेखि सरकारको निर्णय कार्यान्वयन गरी अटेरी गरेको पाइएमा वातावरण संरक्षण ऐन २०७६ र वातावरण संरक्षण नियमावली २०७७ अनुसार कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।

