काठमाण्डौ । नेपालमा एक महिनामा विदेशबाट डेढ खर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भएको छ । भन्सार विभागकाअनुसार असारमा १ खर्ब ५७ अर्ब रुपैयाँको आयात भएको छ । जेठमा १ खर्ब ५८ अर्ब रुपैयाँको आयात भएको थियो ।
सरकारले वैशाखमा १० प्रकारका वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । तर वैशाखमा भन्दा जेठ र असारमा आयात बढेको छ । वैशाखमा १ खर्ब ३७ अर्ब रुपैयाँको आयात भएको थियो ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८र७९ मा १९ खर्ब २० अर्ब रुपैयाँको वस्तु आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २४ प्रतिशतले बढी हो । यस अवधिमा ३ खर्ब २० अर्ब रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थको आयात भएको छ ।
यस्तै १ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढीको भटमास, पाम र सूर्यमुखीको कच्चा तेल तथा ७३ अर्ब रुपैयाँभन्दा बढीको खाद्यान्न, ५२ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल र ल्यापटप, ४८ अर्बको सुन–चाँदी आयात भएको छ ।
आर्थिक वर्ष ०७८र७९ मा व्यापार घाटा २३ प्रतिशतले बढेर १७ खर्ब २० अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँको थियो।

