काठमाण्डौ । भन्सार विभागका अनुसार ११ महिनाको अवधिमा रु ६९ करोड ६० लाख ४९ हजार मूल्यमा २२ लाख ७७ हजार ५३७ किलो ओखर आयात भएको छ । नेपालको भिरपाखामा सहजै रोप्न सकिने ओखरसमेत आयात गरेर खानुपर्ने अवस्थाका कारण नेपालको परनिर्भरता झनै बढेर गएको हो ।
ओखर आयात गर्दा मात्रै मुलुुकले रु २१ करोड ५२ लाख ८३ हजार रकम राजस्व सङ्कलन गरेको छ । छिमेकी मुलुक चीनबाट ओखर सबैभन्दा धेरै भित्रिने गरेको तथ्याङ्क छ । चालु आवको ११ महिनामा चीनबाट २० लाख ५६ हजार ६७९ किलो ओखर रु ६३ करोड १० लाख ७८ हजार मूल्य बराबरको आयात भएको छ । बाँकी परिमाण भने भारतलगायतका अन्य देशबाट आयात भएको छ ।
त्यस्तै रु छ करोड ३७ लाख ६१ हजार मूल्यमा कूल छ लाख ९४ हजार २२३ किलो छोकडा आयात भएको छ । जसमा सुकेका छोकडा रु चार करोड १३ लाख ७३ हजार बराबरका छन् भने ताजा छोकडा रु दुई करोड २३ लाख ८८ हजारका बराबरका छन् । रासस

