काठमाडौँ । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गहुँको समर्थन मूल्य चालु आर्थिक वर्षमा प्रतिक्विन्टल ३ हजार १६५ रुपैयाँ तोकेको उद्योग, वाणिज्य तथा आपूर्ति मनत्रालयले जनाएको छ ।
गत आर्थिक वर्ष २०७७/७८ मा मन्त्रालयले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १११ रुपैयाँ तोकेको थियो । यस्तै आर्थिक वर्ष २०७६/७७ मा गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १५ रुपैयाँ तोकेको थियो । जुन अघिल्लो वर्षको गहुँको समर्थन मूल्यको तुलनामा गत वर्ष गहुँको समर्थन मूल्य ३.१८ प्रतिशतले बढेको थियो ।
तर यो पटक भने सरकारले ५४ रुपैयाँ मात्र मूल्य बढाएको हो । सरकारले प्रत्येक वर्ष गहुँको समर्थन मूल्य निर्धारण गर्दै आएको छ । समर्थन मूल्य बाली हार्डवस्ट गर्नु अघि नै तोक्नु पर्ने प्रावधान भएर पनि सरकारले यो वर्ष ढिला मूल्य तोकेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सुझाएअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वीकृतको लागि पठाइएको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भई समर्थन मूल्य तोकेको हो ।
मन्त्रालयले कृषकले उत्पादन गरेको बाली वस्तुहरुको उचित मूल्य प्राप्ति सँगै विक्री सुनिश्चतता गरी बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यका साथ सरकारले धान, मकै, गहुँ, उखू लगायत विभिन्न बालीहरुको न्यूनतम समर्थम मूल्य तोक्दै आएको पनि जनाएको छ ।
गहुँको खेती सबैभन्दा बढी प्रदेश २ मा हुने गरेको छ । आर्थिक वर्ष २०७०/७१ मा ७ लाख ५४ हजार ४७४ हेक्टर क्षेत्रफलमा गहुँ उत्पादन हुन्थ्यो भने आर्थिक वर्ष २०७६/७७ मा क्षेत्रफल घटेर ७ लाख ७ हजार ५०५ हेक्टरमा गहुँ उत्पादन भएको थियो । गहुँको उत्पादन तथा उत्पादन दर क्रमशः घट्ने क्रममा रहेको छ ।

