सुनसरी । इटहरी उपमहानगरको सबैभन्दा ठूलो योजना अन्तर्गत कोल्ड स्टोरसहितको आधुनिक कृषि बजार निर्माण हुने भएको छ ।
इटहरी वडा नम्बर-९ हाटखोलामा उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले कृषि बजारको शिलान्यास गरेका हुन् । इटहरी उपमहानगरपाकिाका वरिष्ठ इन्जिनियर जीवन घिमिरेका अनुसार रू. २५ करोड ६ लाख ५ हजारको लागतमा कोल्डस्टोर सहितको कृषि बजार निर्माण हुन लागेको हो । कृषि बजारमा ६ लाख केजी सामग्री एकै पटक भण्डारण गर्न मिल्ने कोल्डस्टोर निर्माण हुन लागेको बताइएको छ ।
तरकारी र फलफूलजन्य समग्रीको विक्री कक्ष, एटिएम सहितको बैंक, प्रशासनिक भवन, आवास कक्ष, दुईओटा धर्मकाँटा, १० ओटा थोक विक्री कक्ष निर्माण गरिने छ ।
यो वर्ष बजार निर्माणको लागि संघीय सरकारले रू. २ करोड २९ लाख अनुदान पठाएको छ । दुई वर्षमा निर्माण सकिने उक्त कृषि बजारका लागि क्रमागत बजेट उपलब्ध हुनेछ । उपमहानगरपालिकाबाट ५० प्रतिशत सहभागिता रहने छ भने यो वर्ष प्रदेश सरकाले १ करोड उपलब्ध गराएको छ ।

