चितवन। चितवनको पर्यटकीय नगरी सौराहानजिक रहेको हात्ती प्रजनन केन्द्र खोरसोरमा एक महिनाको अवधिमा तीनवटा छावा जन्मिएका छन् । दुईवटा हात्ती गर्भवती रहेको केन्द्रले जनाएको छ ।
माघ महिनामा दुईवटा छावा जन्मिएको केन्द्रमा सोमबार राति थप एउटा छावा जन्मिएको छ । सोमबार राति साढे १ बजे तमरकलीले छावा (भाले)लाई जन्म दिएको हो । सो छावालाई केन्द्रले आधारभूत तालिमसमेत दिइसकेको छ । तमरकलीको यो दोस्रो सन्तान हो । तमरकलीले पहिलो बच्चा छावा (भाले) नै साढे तीन वर्षअघि जन्माएको थियो ।
केन्द्रमा माघ १९ गते तीर्थमानकलीले छावा (पोथी) तथा माघ २९ गते हिमालीकलीले छावा (भाले) जन्माएको केन्द्रका प्रमुख मनपुरन चौधरीले जानकारी दिनुभएको छ । लोकतन्त्रकली र एैश्वर्यलामा गर्भवती रहेको चौधरीले बताउनुभयो।
एक महिनामा तीनवटा छावा जन्मिएपछि त्यहाँ कार्यरत कर्मचारीहरु हर्षित भएका छन् । केन्द्रमा हाल ११ वटा माउ र १३ वटा छावा गरी २४ वटा हात्ती रहेका छन् । सरकारले हात्ती लोप हुन नदिन चितवनको सौराहानजिक रहेको खोरसोरमा प्रजनन केन्द्र स्थापना गरी हात्ती उत्पादन गर्दै आएको छ । निकुञ्जबाट आउने जंगली हात्तीसँगको संसर्गबाट केन्द्रमा रहेको पोथी हात्तीहरु गर्भवती हुने गर्छन् ।
हात्ती प्रजनन केन्द्र सौराहा आउने पर्यटकका लागि आकर्षणको केन्द्र पनि हो । सौराहामा आउने स्वदेशी तथा विदेशी पर्यटकहरु हात्तीका छावा र माउको रहनसहन, आनीबानी अवलोकन गरेर रमाउने गरेका छन् । प्रजनन केन्द्रमा छावा जन्मिएपछि सौराहाका पर्यटन व्यवसायीहरु पनि उत्साहित भएका छन् ।

