चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) रामपुरमा कुर्सी खरिदमा भएको घोटालामाथि अख्तियारले विशेष अनुसन्धान थालेको छ । महालेखा परीक्षकको प्रतिवेदनमा समेत फर्निचर आपूर्तिकर्ताले म्याद समाप्त भइसकेपछि मात्र फर्निचर आपूर्ति गरेको तथा १०४ थान फर्निचर आपूर्ति नगरेकोले ४० लाख ७१ हजार रुपैयाँ पूर्वनिर्धारित क्षतिपूर्ति असुल गर्नुपर्ने उल्लेख गरिएको छ ।
तीन वर्ष पहिले दुई करोड २१ लाख नौ हजार ६३० रुपैयाँको फर्निचर खरिदमा घोटाला भएको भन्दै परेको उजुरीमा अख्तियारले अनुसन्धान गर्दै आएको हो । घोटालाको विषयमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले तीन वर्ष पहिले नै विश्वविद्यालयमा प्रारम्भिक छापा मारेको थियो ।विश्वविद्यालयको केन्द्रीय कार्यालय, मल्टिप्रपोज हल तथा आंगिक क्याम्पसहरूका लागि भन्दै करीब २९० थान कुर्सी सोफा खरिद गर्दा भ्रष्टाचार भएको स्रोतको दाबी छ । डेढ वर्षदेखि अनुसन्धान चलिरहेको सो मुद्दामा अख्तियारले बेलाबखत बयानसमेत लिँदै आइरहेको छ ।
अनुसन्धान अधिकृतको तीन सदस्यीय टोलीले विश्वविद्यालयमा विशेष अनुसन्धानका लागि छापा मारेको हो । पुरानो फाइलयमा कैफियत भेटिएपछि अख्तियारले अनुसन्धान अधिकृत तोकेर विशेष अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
कुर्सीलगायतका फर्निचर खरिद गर्दा तोकिएको भन्दा कम परिमाण र गुणस्तरको कुर्सी खरिद गरी लाखौँको घोटाला गरिएको उजुरी परेको थियो ।अख्तियारको टोलीले विश्वविद्यालयमा नै आएर खरिदसम्बन्धी कागजपत्र तथा कुर्सी, सोफाको विवरण संकलन गरेको छ ।
कुर्सी सोफा खरिद गरेको केही महिनामै कामै नलाग्ने गरी धुलाम्मे भएपछि भ्रष्टाचार भएको आशंका गरिएको थियो । बंगलामुखी बीरा जेभीले २० चैत २०७४ मा फर्निचर सप्लाइ गरेको थियो । तोकिएको परिमाण र गुणस्तरसमेत कम राखेर महंगो मूल्यमा फर्निचर खरिद गरेको देखिएको छ । सो सप्लायर्स कम्पनीले २४ असार २०७५ मा बिल पेस गरेर दुई करोड २१ लाख नौ हजार ६३० रुपैयाँ भुक्तानी लिएको थियो ।

