चितवन । चितवनमा पुनरूत्थानशीलता विश्लेषण तथा जीविकोपार्जनसम्बन्धी विस्तृत अध्ययन कार्यशाला भएको छ । जिल्लाका स्थानीय पालिका प्रमुख तथा उपप्रमुख, कृषि विज्ञ र यससँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधिको विशेष उपस्थितिमा जीविकोपार्जन अभ्यासमा जिल्लास्तरीय परामर्श कार्यशाला भएको हो ।
राष्ट्रिय योजना आयोग, बागमती प्रदेश नीति तथा योजना आयोग, जिल्ला समन्वय समिति मकवानपुर र संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रमको आयोजनामा जिल्ला समन्वय समिति चितवनको सभाहलमा कार्यशाला भएको हो ।
कार्यशालामा विश्व खाद्य कार्यक्रमका बागमती प्रदेश संयोजक राजु क्षेत्रीले पुनरूत्थानशीलता विश्लेषण तथा जीविकोपार्जनसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले जलवायु परिवर्तन र यसले खाद्य सुरक्षामा पार्न सक्ने असरहरुको पहिचानको विषयमा अवधारणा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा परम्परागत रैथाने बाली संरुक्षण गर्दै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न तीन तहको सरकार लाग्नुपर्ने बताइएको थियो । कार्यक्रममा सहभागीहरुले अन्य विकासका योजनासँगै वातावरणीय संरक्षणका योजनाहरु पनि पालिकाले ल्याउनुपर्ने सुझाव दिएका थिए । ल्याउन सुझाव दिए । भोकमरीको अन्त्य, खाद्य सुरक्षा, पोषणमा सुधार र दिगो कृषि प्रवद्र्धनजस्ता विकासका लक्ष्यहरु हासिल गर्न स्थानीय तहको सक्रियता बढ्नुपर्ने बताइएको थियो ।

