काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन बेरोजगार युवाहरूसँग आवेदन मागेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रम महाशाखाले आवेदनका लागि फागुन मसान्तसम्मको सीमा तोकेको हो ।
आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा निवेदन दिनसक्ने प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय निर्देशक सहसचिव डण्डुराज घिमिरेले नेपाल प्रेसलाई बताए ।बताउनुभएको छ । उहाँकाअनुसार १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले निवेदन दिन सक्नेछन् ।
निवेदकले आवेदन गर्दाको मितिसम्म यस आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारमा संलग्न नभएको हुनुपर्नेछ । स्वरोजगारमा संलग्न व्यक्तिको हकमा निवेदन दिदाँको मितिसम्म एक सय दिनको रोजगारीबापत सरकारले तोकेको न्यूनतम पारिश्रमिकबराबरको ५७ हजार ७ सय भन्दा कम आय भएको हुनुपर्नेछ ।
निवेदनलाई वडा हुँदै प्रक्रिया पुर्याएर बेरोजगार व्यक्तिको अन्तिम सूची गाउँ कार्यपालिका वा नगर कार्यपालिकाबाट स्वीकृतिको लागि मन्त्रालयलाई सिफारिस पठाउँनेछ । स्थानीय तहले बेरोजगार व्यक्तिको व्यक्तिगत विवरणलाई प्रधानमन्त्री रोजगार कार्यक्रमको रोजगार व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरेपछि मात्र बेरोजगार व्यक्तिको अन्तिम सूची कायम गरिने व्यवस्था छ ।

