चितवन । बजारमा खाने तेलको मूल्य बढेको छ । लगातार मूल्य बढ्दा त्यसको असर उपभोक्तलाई परेको छ । तोरी, भटमास र सूर्यमुखी गरी तीनै प्रकारका तेलको मूल्य बढाएका हुन् ।
भटमास र सूर्यमुखी तेलको मूल्य लिटरमा १० रुपैयाँले बढेको छ भने तोरीको तेलको मूल्य लिटरमा दुईदेखि तीन रुपैयाँले वृद्धि भएको छ । नयाँ मूल्यवृद्धि पछि भटमासको तेलको प्रतिलिटर खुद्रा बिक्री मूल्य २ सय ४० रुपैयाँ, सूर्यमुखी तेलको मूल्य लिटरमा २ सय ६० र तोरीको तेलको मूल्य ३ सय ५० रुपैयाँ पुगेको संघको तथ्यांक छ । होलसेल मूल्य बढेर आएको भन्दै खुद्रा व्यवसायीले मूल्य बढाएका हुन् । होलसेल मूल्य बढेर आएको भन्दै खुद्रा व्यवसायीले मनपरि ढंगले मूल्य निर्धारण गर्दा त्यसको मार उपभोक्तालाई पर्न गएको छ ।
एक बर्षको अवधीमा खाने तेलको मूल्य लिटरमै ७० रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेर आएको भन्दै व्यवसायीले अस्वाभाविक रूपमा मूल्य बढाएका हुन् ।
नेपाल खुद्रा व्यापार संघको तथ्यांकअनुसार गत वर्ष मंसिर महिनामा प्रतिलिटर ३ सय रुपैयाँ रहेको भुटेको तोरीको तेल अहिले बढेर ३ सय ७० रुपैयाँ पुगेको छ । सोही अवधिमा प्रतिलिटर २ सय ७० रुपैयाँ रहेको काँचो तोरीको तेलको मूल्य बढेर ३ सय रुपैयाँ पुगेको छ ।
एक वर्षअघि २ सय १० रुपैयाँ रहेको सनफ्लावर तेलको मूल्य अहिले बढेर २ सय ५० पुगेको छ । यस्तै प्रतिलिटर दुई सय रुपैयाँ रहेको भटमासको तेल बढेर २ सय ४० रुपैयाँ पुगेको छ ।

