मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१० न्युरेनीमा वाग्मती प्रदेश सरकारले किसानको हितका लागि दूध पाउडर प्लान्ट निर्माण भइरहेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको दुग्ध विकास बोर्डको लगानीमा पाउडर प्लान्ट निर्माण भइरहेको हो ।
सङ्घीय सरकारको निर्णायानुसार अहिले डीडीसीको पशुदाना कारखानाभित्र प्लान्ट स्थापना जारी राखिएको छ । डीडीसीले लिएको ८ बिघामध्ये २ बिघामा दुग्ध पाउडर प्लान्ट स्थापना गर्न काम भइरहेको हो । चालु आर्थिक वर्षको असार महिनासम्ममा न्युरेनीमा पाउडर प्लान्ट निर्माणको काम सक्नेगरी काम भइरहेको प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डाक्टर शरण कुमार पाण्डेले बताउनुभएको छ।
सङ्घीय कृषि मन्त्रालयमातहत रहेको जग्गा डीडीसीले २५ वर्षका लागि लिजमा लिएको थियो । त्यसमध्ये २ बिघा बोर्डले लिएको हो । यो भवन करिब डेढ वर्षभित्र निर्माणसम्पन्न गरी पाउडर दूध प्लान्ट सञ्चालन गर्ने लक्ष्य रहेको थियो । तर, विभिन्न समस्याका कारण समयमानै काम गर्नका लागि बाधा पुगेको थियो । अहिले भने द्रुत गतिमा काम भइरहेको सचिव पाण्डेले बताउनुभयो । पाउडर दूध उद्योगको पहिलो चरणमा कम्पाउन्ड लगाउने काम सकेर भवन निर्माण र प्लान्ट जडान गर्नका लागि आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको उहाँले बताउनुभयो ।
वाग्मती प्रदेश सरकारको ४१ करोड २२ लाख ७१ हजार रुपैयाँ अनुदान रकमबाट हेटौँडा उपमहानगरपालिका–१०, न्युरेनीमा पाउडर प्लान्ट र त्यसका लागि भवन निर्माण थालिएको हो । उत्पादित धुलो दूध प्याकिङ दैनिक ५ मेट्रिक टन सात वटै प्रदेशका स्थानीय बजार, होटल र नागरिक उपभोक्तालाई सहजढङ्गबाट वितरण गर्ने कार्यतालिकासहित यातायातको सुविधा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

