काठमाडौँ । मन्त्रिपरिषद्को सोमबारको बैठकले कच्चा दूधको न्यूनतम मूल्य प्रतिलिटर ५६.०४ पैसा निर्धारण गर्यो । उक्त मूल्य ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफका आधारमा तोकिएको हो । यसअघि किसानले ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफको आधारमा प्रतिलिटर न्यूनतम ४९.५२ रुपैयाँ पाएका थिए । सरकारले किसानले पाउने दूधको न्यूनतम मूल्य ६.५२ रुपैयाँ बढाइदिएको हो ।
किसानले पाउने मूल्य बढेसँगै अब उपभोक्ता मूल्य पनि बढाउने तयारी भइरहेको छ ।मुल्य बढेपनि दुध उत्पादन गर्ने किसानलाई भन्दा विचौलीयालाई फाइदा हुने भएको छ । उपभोक्ता मुल्य बढाउन सकृयता देखिएपनि उत्पादन गर्ने कृषकले प्राप्त गर्ने मुल्य समायोजनका बिषयमा खासै चर्चा भएको पाइएको छैन ।
उपभोक्ता मूल्य बढाउने सन्दर्भमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी) लाई सहकारी, डेरीहरूको लागत अध्ययन गर्न निर्देशन दिइसकेको छ । हाल ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफका आधारमा किसानले न्यूनतम प्रतिलिटर ४९.५२ रुपैयाँ पाउँदा डीडीसीले उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपैयाँ तोकेको छ । तर, बजारमा सर्वसाधारणले ८० रुपैयाँसम्ममा किन्ने गरेका छन् । किसान र उपभोक्ता मूल्यबीच प्रतिलिटर ३०.४८ रुपैयाँको अन्तर छ ।
हाल डेरी उद्योगीहरूले भनेअनुसार नै प्रतिलिटर १० रुपैयाँ बढाइए उपभोक्ता मूल्य ९० रुपैयाँभन्दा बढी हुने देखिन्छ । त्यसपछि किसान र उपभोक्ता मूल्यको अन्तर लिटरमा कम्तीमा ३३.९६ रुपैयाँ हुनेछ । यसअघि राष्ट्रिय दुग्ध विकास बोर्डले पुस २६ मै दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव गरेको थियो ।

