काठमाण्डाै । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालको निर्यात व्यापार एक सय प्रतिशतभन्दा धेरैले बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि मङ्सिरसम्मको पाँच महिनामा नेपालले एक खर्ब दुई अर्ब रुपैयाँको सामान निर्यात गरेको छ ।
हरेक वर्ष सरकारले खाद्यान्नमा आत्मनिर्भर हुने भन्दै विभिन्न कार्यक्रम ल्याए पनि हरिया सागपात, फलफूललगायतका खाद्यान्न आयात भने बढिरहेको छ । पाँच महिनामा ३३ अर्ब ९४ करोड रुपैयाँको खाद्यान्न आयात भएको छ । यसमा १९ अर्ब ५७ करोड रुपैयाँको तरकारी, १० अर्ब रुपैयाँको फलफूल, चार अर्ब रुपैयाँको चिया कफी, एक अर्ब रुपैयाँको जिउँदाे पशु, ६८ करोड रुपैयाँको माछा आयात भएको छ । ६९ अर्ब ८४ करोड रुपैयाँको घिउ तेल, बाेसाे र पशुजन्य पदार्थ आयात भएको भन्सार विभागले जनाएको छ । खाद्यान्न उद्योगका लागि १२ अर्ब रुपैयाँका सामान आयात भएका छन् ।
धेरै आयात हुने वस्तुको सूचीमा एक खर्ब २२ अर्ब रुपैयाँको खनिजजन्य वस्तु, ३२ अर्ब रुपैयाँको औषधि र कच्चा पदार्थ, १२ अर्ब रुपैयाँको लत्ता कपडा, ७० अर्ब रुपैयाँको फलाम र स्टिल, ६३ अर्ब रुपैयाँको मेशिनरी सामान, ५७ अर्ब रुपैयाँको विद्युतीय सामान, ५३ अर्ब ४५ करोड रुपैयाँका गाडी आयात भएका छन् ।

