चितवन । चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ‘नेपालमा कृषिको भविष्यः शिक्षा, अनुसन्धान, नीति र उद्यमशीलता’ विषयक कृषि संवाद कार्यक्रम सम्पन्न भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको १६औँ स्थापना दिवसको अवसरमा संवाद कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. होम बहादुर बस्नेत, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का पूर्व कार्यकारी निर्देशक डा. यमराज पाण्डे, बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव सुधिर श्रेष्ठ तथा कृषि उद्यमी डा. भानेश्वर पोखरेल वक्ताका रूपमा सहभागी हुनुभएको थियो ।

संवाद कार्यक्रममा जिल्लाका विभिन्न व्यवसायिक कृषक, कृषि उद्यमी, किसान तथा कृषि अध्ययनरत विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा कृषि शिक्षा, कृषि नीति, कृषि अनुसन्धान तथा कृषि उद्यमशीलताका विविध आयामबारे विस्तृत छलफल गरिएको थियो ।
वक्ताहरूले आ–आफ्नो अनुभव, कार्यक्षेत्र र संस्थागत जिम्मेवारीका आधारमा नेपालमा कृषिको वर्तमान अवस्था, चुनौती र सम्भावनाका विषयमा धारणा राख्नुभएको थियो । उहाँहरूले कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र प्रविधिमैत्री बनाउँदै युवालाई कृषि उद्यमशीलतामा आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो ।

उपकुलपति प्रा.डा. बस्नेतले कृषि शिक्षालाई समयानुकूल र व्यवहारिक बनाउन आवश्यक रहेको बताउँदै शिक्षा, अनुसन्धान र उत्पादनबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो । पूर्व कार्यकारी निर्देशक डा. पाण्डेले कृषि अनुसन्धानलाई किसानका आवश्यकता र बजारको मागसँग जोड्न सकेमात्र कृषि क्षेत्रको दिगो विकास सम्भव हुने उल्लेख गर्नुभयो ।
त्यसैगरी सचिव श्रेष्ठले कृषि नीतिहरूलाई उत्पादनमुखी, किसानमैत्री तथा उद्यम प्रवर्द्धन गर्ने खालको बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । कृषि उद्यमी डा. पोखरेलले कृषिलाई केवल जीविकोपार्जनको माध्यम नभई सम्मानजनक र लाभदायी व्यवसायका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागी किसान, उद्यमी तथा विद्यार्थीहरूले कृषि क्षेत्रमा देखिएका समस्या, अवसर र समाधानका उपायबारे आफ्ना जिज्ञासा तथा सुझाव प्रस्तुत गरेका थिए । वक्ताहरूले सहभागीका प्रश्नको जवाफ दिँदै कृषि क्षेत्रको समग्र विकासका लागि शिक्षा, अनुसन्धान, नीति निर्माण र उद्यमशीलताको समन्वय अपरिहार्य रहेको बताएका थिए ।
संवाद कार्यक्रमले कृषि क्षेत्रका सरोकारवालाबीच अनुभव आदान–प्रदान, नीति बहस तथा भावी रणनीतिका विषयमा साझा बुझाइ निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ ।
नेपाललाई कृषि प्रधान देश भनिए पनि कृषि क्षेत्रले अहिले पनि करिब ६० प्रतिशतभन्दा बढी श्रमशक्तिलाई रोजगारी दिएको छ भने राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान करिब २५ प्रतिशत रहेको छ। तर, कृषि क्षेत्रमा संलग्न जनशक्ति ठूलो भए पनि उत्पादन, उत्पादकत्व, बजारीकरण र मूल्य शृंखलामा अपेक्षित सुधार हुन सकेको छैन ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा कृषि क्षेत्रको वृद्धिदर ३।२८ प्रतिशत रहने अनुमान गरिएको छ । कृषि क्षेत्रको विकासका लागि शिक्षा, अनुसन्धान, प्रविधि हस्तान्तरण र उद्यमशीलताको प्रभावकारी समन्वय आवश्यक रहेको विषयमा विज्ञहरूले जोड दिँदै आएका छन् ।
कार्यक्रममा वक्ताहरूले नेपालको कृषि क्षेत्र अझै पनि परम्परागत उत्पादन प्रणालीमा आधारित रहेकाले उत्पादन लागत उच्च र उत्पादकत्व तुलनात्मक रूपमा न्यून रहेको धारणा राखेका थिए । कृषि क्षेत्रमा ठूलो जनशक्ति आबद्ध भए पनि युवा पुस्ताको आकर्षण घट्दै जानु, कृषि अनुसन्धानका उपलब्धिहरू किसानसम्म पर्याप्त रूपमा नपुग्नु तथा नीतिगत स्थायित्वको अभाव चुनौतीका रूपमा रहेको उनीहरूको भनाइ थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान करिब २५ प्रतिशत रहेको छ भने ६० प्रतिशतभन्दा बढी श्रमशक्ति प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिमा निर्भर छ । यस्तो अवस्थामा कृषि शिक्षा, अनुसन्धान, नीति र उद्यमशीलतालाई एकीकृत रूपमा अगाडि बढाउन सके मात्रै नेपालको कृषि क्षेत्र आत्मनिर्भर र प्रतिस्पर्धी बन्न सक्ने निष्कर्ष कार्यक्रममा व्यक्त गरिएको थियो ।

