चितवन । पशुपालनका लागि आवश्यक पर्ने पशु दानाका व्यवपारीहरुले किसानमाथी ब्रम्हलुट गरिरहेकाछन् । राज्यको निकायले पशु दानाका गुणस्तर,मूल्य र वजार अवस्थाको अनुगमन नगर्दा दाना व्यपारीहरुको मनलाग्दी चलिरहेको छ । दाना र चोक्करको मुल्य आकासिदै गएपनि सरकारको नजर यस तर्फ पर्न सकेको छैन ।
पर्याप्त मात्रामा घाँस र पोषणको अभाव टार्नको लागि पशुपालनका लागि पछिल्लो समय दाना अत्यावश्यक पशु आहारका रुपमा पर्न थालेको छ । व्यवसायीक रुपमा बढ्दै गईरहेको पशुपालनमा दाना चोक्करको खपत पनि बढ्दै गएको छ । प्रसस्त चरण अभावका कारण पनि दाना पशुपालनका लागि नभै नहुने बस्तुका बनेको छ । पशुबस्तुहरुलाई दाना कै भरमा आहारको व्यवस्था गर्दै आईरहेको देखिन्छ ।
आवश्यकताको मौकाको फाइदा उठाउँदै दाना उद्योग तथा व्यापारीहरुले भने किसानहरुलाई लुटेका छन् । दाना उद्योगको सिन्डकेट र मनलाग्दी मूल्यको मारमा किसान परेका हुन । बजारमा दानामा भएको एकाधिकार अन्त्य गर्न पशु सेवा विभाग लगायत सरोकारवाला निकायले ध्यान दिन सकेका छैनन । कच्चा पदार्थको अभाव वा कच्चा पदार्थको मुल्य बढेको भन्दै व्यपारीहरुले दाना चोक्करको मुल्य बढाएका छन् ।
किसानहरुको लागि बोलिदिने संघसंस्था एवं सरकारी निकायको मौनताको फाइदा उठाउँदै भटमास, मकै लगायतका दानका लागि आवश्यक कच्चा पदार्थ सहज र सस्तो हुँदा पनि दानाको मूल्य भने किसानहरुले चर्को नै तिर्नु परेको देखिन्छ । दाना उद्योगी र व्यापारीहरुको मौलाउँदै गईरहेका लुटलाई राज्यले सुन्न र देख्न सकेको छैन ।

