काठमाण्डौ । सहकारी पीडित बचतकर्ता महासङ्घ सङ्घर्ष समितिले बचत फिर्ताको माग राख्दै काठमाण्डौमा प्रदर्शन गरेको छ । सहकारीबाट ठगिएका पीडितहरु एक हुँदै सहकारीमा राखेको बचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै शनिवार आज काठमाण्डौको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।
सहकारीहरुले खाएर भागेको बचत फिर्ताको लागि पालिकादेखि केन्द्र सरकारका निकायका ढोकामा पुग्दा समेतबचत फिर्ता नभएको भन्दै धर्ना तथा प्रदर्शनमा उत्रिएको उनीहरुले बताएका छन् ।
सङ्घर्ष समिति अध्यक्ष सुनितासिंह राजभण्डारीले सहकारीको बचत फिर्ताको लागि राज्यका सबै निकायहरु धाउँदा कतै पनि सुनुवाइ नहुँदा संयुक्त रुपमा पीडितहरु सडक आन्दोलनमा आएको बताउनु भयो । उहाँले सरकारसँग सहकारी पीडितहरुको माग सहकारीहरुलाई नियन्त्रण गर्ने एउटा मात्रै निकाय बनाउनुपर्ने र सहकारीहरुले बनाउने निजी ऐन बन्द गर्नुपर्ने रहेको बताउनु भयो ।

