काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी संस्थाहरु आफ्ना सदस्यहरुप्रति जिम्मेवार बन्नु पर्नेमा जोड दिनु भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) को ३५ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले मुलुकको आर्थिक विकास तथा विस्तार, राष्ट्रिय पूजी निर्माण, बचत परिचालन र लगानीको लागि सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।
मन्त्री श्रेष्ठले पछिल्लो समयमा सहकारीको संलग्नता उत्पादन, उत्पादकत्व र स्वरोजगारीको क्षेत्रमा नभई बचत तथा ऋण कारोवारमा बढी केन्द्रित हुँदै गईरहेको, केही सहकारीमा सहकारीका सिद्धान्त, मूल्य तथा मान्यता अनुसरणको कमजोर अवस्था र वित्तीय सुशासनको कमजोर हुँदा सहकारीप्रति आम नागरिकको विश्वास र भरोसा घट्दै गइरहेको देखिएको पनि बताउनु भयो ।
सहकारी क्षेत्रलाई मर्यादित, दिगो र विश्वसनीय बनाउनु पर्ने आवश्यकता र जिम्मेवारी आएको समयमा दोष अरुलाई देखाएर आफू पन्छिने प्रवृत्ति सहकारी अभियान्ताहरुमा देखिएको भन्दै मन्त्री श्रेष्ठले सहकारी ऐन नियमावलीमा भएका व्यवस्थाहरको पूर्ण परिपालन, सहकारी मुल्य, मान्यता र सिद्धान्तको सही परिपालनबाट मात्र सहकारी क्षेत्रको समस्या समाधान गर्न सकिने बताउनु भयो ।
मन्त्री श्रेष्ठले अहिलेको सरकार सहजिकरण, नियमन र उत्प्रेरकको भूमिकामा आफूलाई केन्द्रित गर्दै साझेदारी प्रवद्र्धनको दिशातर्फ अघिबढीरहेको भन्दै समग्र राष्ट्रिय विकासका लक्ष्यहरु प्राप्त गर्न सहकारी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आफू प्रतिबद्ध रहेको पनि बताउनुभयो ।
मन्त्री श्रेष्ठले नियामक निकाय र सहकारीबीचको उपयुक्त सहकार्यबाट मात्रै सहकारी क्षेत्रको शुद्धीकरण संभव छ भन्दै नियामक निकायको रुपमा रहेको सहकारी विभाग तथा प्रदेश एवं स्थानीय सरकारवीच प्रभावकारी साझेदारीको माध्यमबाट अघि बढ्ने गरी प्रयास भइरहेको पनि बताउनु भयो ।

