चितवन । सहकारीमा महिला तथा युवाको सहभागिता बढाउनसके राम्रो हुने सरोकारवालाहरुले बताएकाछन् । बचत तथा ऋण सहकारी संघले गरेको ‘सहकारीमा महिला तथा युवाको सहभागिता र सशक्तिकरणको धारिलो अस्त्र’ कार्यक्रममा सहभागीहरुले सहकारीलाई व्यववस्थत रुपमा सञ्चालन र व्यवस्थापनमा महिला र युवाको महत्पुर्ण भुमिका रहने बताएका हुन ।
सहकारीलाई नियन्त्रण र नियमन गर्न सके सहकारी सदस्यहरुको सक्रियतालाई बढाउन सकिने सहभागीहरुले बताएकाछन् । कार्यक्रमका प्रमुख अतिथि चितवन जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले सहकारीलाई दिगो रुपमा अगाडि बढाउनको लागि सदस्यहरुको सक्रियतालाई बढाउनुपर्ने बताउनुभएको छ । उहाँले सरकारी निकाय सहकारीको प्रवद्र्धनका लागि सधैँ सहयोगीको रुपमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भरतपुर महानगरपालिका सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रामबाबु पौडेलले सहकारी संस्थामा प्रतिशतको आधारमा भन्दा पनि उल्लेख्यरुपमा युवा तथा महिलालाई जोड्न आग्रह गर्नुभएको थियो । उहाँले सहकारी सञ्चालन गर्ने प्रमुख दायित्व सेयर सदस्यको रहेको बताउनुभयो।
वरिष्ठ पत्रकार तथा महिला अधिकारकर्मी बबिता बस्नेतले महिलामाथि हुने हिंसाको प्रमुख कारण आर्थिक पक्ष भएको भन्दै आर्थिक रुपमा महिलाहरुलाई सशक्त बनाउन सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रमको प्रमुख प्रशिक्षक बस्नेतले महिलालाई बौद्धिकताको रुपले हेर्नुपर्ने बताउनुभयो । ८ महिनामा पाँच हजार ५०० डिजिटल हिंसाका घटनाहरु नेपाल प्रहरीमा दर्ता भएको भन्दै उहाँले महिलाहरुलाई डिजिटल साक्षरता दिनु अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो ।
सहकारीमा पछिल्लो समयमा देखिएको समस्या समाधानका लागि सदस्यहरुलाई जागरुक बनाउनु आवश्यक भएको कार्यक्रममा सहभागी सहकारीका अभियन्ताहरुले बताएका छन् । युनिक साकोसकी सञ्चालिका शोभा ओली शर्माले यो विषयलाई अस्त्रलाई शस्त्रमा परिणत गरी सहकारीको दिगो विकासको लागि तलका इकाइदेखि केन्द्रसम्म समेट्नको लागि के–कस्तो नियम र विधान बनेको छ भनी स्पष्ट पार्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागी हाम्रो चित्रवन साकोसकी सञ्चालिका किरण कुमारी अधिकारीले कमिसन प्रथाको विकृति बढ्दो रहेको बताउदै पछिल्लो अवस्थामा युवाहरु विदेशिने क्रम बढ्दो रहेकोले सहकारी चलाउनको लागि दक्ष श्रमिकको अभाव रहेको बताउनुभयो ।

