नुवाकोट । पञ्चकन्या गाउँपालिका–४ घ्याङस्वारामा उत्पादन गरिएको अर्ग्यानिक चियाको मूल्य प्रतिकिलो रु. ६ हजार निर्धारण गरिएको छ ।
गुणस्तर परीक्षणमा उत्कृष्ट ठहरिएपछि गाउँपालिकाले ‘घ्याङस्वारा अर्ग्यानिक चिया उत्पादन, प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ, मूल्य निर्धारण, बिक्री तथा वितरणसम्बन्धी कार्यविधि, २०८३’ अनुसार मूल्य तोकेको हो ।
गाउँपालिकाका अनुसार चिया ५०० ग्राम रु. ३ हजार, २५० ग्राम रु. १ हजार ५००, १०० ग्राम रु. ६ सय, ५० ग्राम रु. ३ सय र २५ ग्राम रु. १५० मा बिक्री गरिनेछ ।
३३२ रोपनी सार्वजनिक जग्गामा रोपिएका ८३ हजार चियाका बिरुवामध्ये करिब १२ हजार बिरुवाले उत्पादन दिन थालेका छन् । गाउँपालिकाले चियालाई ‘घ्याङस्वारा अर्ग्यानिक चिया’ नाम दिएर बजारमा लैजाने प्रक्रिया अघि बढाएको जनाएको छ ।
गाउँपालिकाले चिया उत्पादनलाई स्थानीय रोजगारी, कृषि आत्मनिर्भरता र पर्यटन प्रवर्द्धनसँग जोड्ने लक्ष्य लिएको छ ।

