काभ्रे – सरकारी वन क्षेत्रमा ‘जडीबुटी’को प्रचुर सम्भावना रहेको देखिएको छ । काभ्रेको१ लाख ४० हजार किलोसम्म जडीबुटी सङ्कलन गर्न सकिने डिभिजन वन कार्यालय धुलिखेलको तथ्याङ्कले देखाएको छ ।
वन नियमावलीअनुसार तोकिएका जडीबुटी अनुमति लिएर सङ्कलन गर्न सकिने भए तापनि अहिलेसम्म कसैले चासो नदिँदा बहुमूल्य जडीबुटी खेर गएको हो । कार्यालयको रणनीतिक कार्ययोजनाअनुसार सरकारी वन क्षेत्रबाट ३१ प्रकारका जडीबुटी सङ्कलन गर्न सकिने उल्लेख छ ।
यस वर्ष पाँच–औँले ३ हजार ६ किलो, वन लसुन १ हजार २ सय, सतुवा १ हजार ६ सय ५०, पाखनवेद ७ हजार ५ सय, जटामसी ४ हजार ५ सय, पाषणवेद ३ हजार किलो सङ्कलन गर्न सकिने कार्यालयले छ ।
यसैगरी कुरिलो १ हजार ५ किलोग्राम, ठूलो ओखती २ हजार २ सय ५०, मजिठो १ हजार ५ सय, सुगन्धवाल १ हजार ५ सय, बुहारीझार ६ हजार, निमपात ३ हजार किलोग्राम सङ्कलन गर्न सकिने कार्यालयका सूचना अधिकारी वन अधिकृत सरिता लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार धसिङगरे ६ हजार किलोग्राम, तितेपाती २ हजार ८ सय, गुर्जो १ हजार ६ सय, कालीकाठ १५ हजार, बेल ३ हजार, अमला १ हजार ७ सय ६०, सिलटीमुर ७ हजार ५ सय किलो सङ्कलन गर्न सकिनेछ ।
त्यसैगरी कण्ठकारी ८ सय किलोग्राम, हर्रो १ हजार २ सय, बर्रो १ हजार ६ सय, पिपला १२ हजार, बनकरेला २ हजार, नुनढिकी १ हजार ७ सय ५०, काफल ८ हजार, काउलो ६ सय, सिस्नु ७ हजार २, चिराइतो १५ हजार र कुकुरडाइनो २ हजार किलो सङ्कलन गर्न सकिने छ । जिल्लामा ५ सय ८४ सामुदायिक वन, ४ सय ६० कबुलियति वन, एक धार्मिक वन तथा १२ निजी (दर्ता) वन रहेका छन् ।

