चितवन । चितवनको खैरहनी नगरपालिकाले बर्खे धानको उन्नत बीउमा किसानलाई ५० प्रतिशत अनुदान दिने भएको छ । चालु आर्थिक वर्षअन्तर्गत खाद्यान्न बाली प्रवर्द्धनका लागि यो कार्यक्रम ल्याइएको हो ।
नगरपालिकाले वैशाख ७ गतेभित्र निवेदन दिन किसानलाई आह्वान गरेको छ । सात जातका धान ९सुक्खा धान–२, सावित्री, हर्दिनाथ–५/६, सावा मन्सुली सब–१, रामधान र चैते–५० मा अनुदान उपलब्ध हुनेछ ।
एक किसानले अधिकतम १०० किलोसम्म बीउ पाउने व्यवस्था छ । अनुदानका लागि आवश्यक कागजातसहित कृषि शाखामा निवेदन दिनुपर्नेछ । धानको उत्पादन वृद्धि र कृषिमा आत्मनिर्भरता बढाउन कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

