धनुषा । जनकपुरधामस्थित मधेश प्रदेश कृषि विकास निर्देशनालयले आँपमा देखिएको मधुवा रोगका कारण यस वर्ष उत्पादन घट्ने अनुमान गरेको छ । समयमै वर्षा नहुनु र हावाहुरीका कारण पनि उत्पादनमा असर पर्ने बताइएको छ ।
यस वर्ष आँपमा मजर (फूल) राम्रो लागे पनि रोगका कारण अपेक्षित उत्पादन नहुने अवस्था बनेको निर्देशनालयका अधिकृत सन्दीप ठाकुरले जानकारी दिएका छन् । सुरुमा गत वर्षभन्दा करिब ६० प्रतिशत बढी उत्पादन हुने अनुमान गरिएको थियो ।
मधेश प्रदेशमा करिब ३० हजार ८०० हेक्टरमा आँप खेती गरिएको छ। मौसम अनुकूल भएमा ४ लाख मेट्रिक टनभन्दा बढी उत्पादन हुने र करिब ४० करोड रुपैयाँको कारोबार हुने अनुमान छ ।
धनुषा, महोत्तरी, सिरहा र सप्तरी आँप उत्पादनका प्रमुख जिल्ला हुन् । प्रदेशले देशको कुल उत्पादनको करिब ७६ प्रतिशत हिस्सा ओगट्ने गरेको छ । साथै, भारतबाट आँप आयात पनि उल्लेख्य मात्रामा भइरहेको छ ।

