काठमाडौँ । प्राविधिक समस्याका कारण गत कात्तिकदेखि रोकिएको किसान सूचीकरण कार्य कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पुनः सुरु गरेको छ । वास्तविक किसानको पहिचान गरी परिचय–पत्र, रासायनिक मल, बीउ र अनुदान जस्ता सरकारी सुविधाहरू सहजै उपलब्ध गराउन यो प्रक्रिया थालिएको हो ।
मन्त्रालयका अनुसार किसानहरूलाई उनीहरूको जमिन र उत्पादनको आधारमा निर्वाहमुखी, साना, मझौला र ठूला गरी चार वर्गमा विभाजन गरिएको छ। २०७८ को कृषि गणनाअनुसार देशभर ४१ लाख ३० हजार किसान रहे पनि हालसम्म २३ लाख ९३ हजार मात्र सूचीकृत भएका छन् । मन्त्रालयले छुट भएका किसानहरूलाई आ(आफ्नो पालिकामा नाम दर्ता गराउन आग्रह गरेको छ ।

