बाँके – तराईमा लागेको हुस्सु र कुहिरोका कारण मौरी मर्न थालेका छन् । आफूले पालेका मध्ये झन्डै दुई प्रतिशत मौरी चिसोका कारण मरेका नेपाल मौरीपालक महासङ्घ, बाँकेका अध्यक्ष एवम् मौरी पालक किसान पुरमल बस्नेतले बताउनुभयो ।
शीतसहितको आवा चल्दा कतिपय घार नै रित्तो हुने गरी मौरी मरेका उहाँको भनाइ छ । चिसोका कारण चरिचरण समेत प्रभावित भएकोले मह उत्पादन निकै घट्ने उहाँले बताउनुभयो ।
मौरीको घारलाई न्यानो बनाउन पहल नगरिए धेरै किसानले क्षती बोहोर्नुपर्ने देखिएकोले सरकारले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । चिसोका कारण रानीमौरीले अण्डा पार्न नसक्नुसँगै चिसोले कर्मी मौरी बाहिर आउन नसक्दा किसानलाई दुबैतर्फ घाटा भएको छ । बाँकेको कोहलपुर, बैजनाथ, राप्तीसोनारी, खजुरालगायतका क्षेत्रमा किसानले मौरीपालन गर्दै आएका छन् । रासस

