महोत्तरी – गौशाला–१ रामनगरमा रहेको एभरेस्ट चिनी उद्योगले उखु क्रसिङ अर्थात् (उखु पेल्न) थालेको छ । उद्योगले यस वर्षको चिनी उत्पादनका लागि क्रसिङ थालेको हो । गएको वर्षभन्दा दुई हप्ता ढिलो उद्योग सञ्चालन गरिए पनि उद्योगलाई उखु पर्याप्त पुगिसकेको छैन ।
किसानले उखु काटेर पुर्याउन नसक्दा उद्योगलाई उखु अपुग भएको हो । उखुको क्रसिङ थालेको तर क्षमताअनुसार उखु निकै कम आएको उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाले बताउनुभयो । उद्योगको क्षमता दैनिक ५५ हजार क्विन्टल उखु क्रसिङ गर्ने छ, तर उद्योगमा पहिलो दिन हिजो आएको उखु १५ हजार क्विन्टल पनि पुगेन ।
यसले गर्दा रोकीरोकी क्रसिङ गर्नुपर्ने अवस्था छ । सरकारले यसपालि गएको मङ्सिर २२ गते उखुको समर्थन मूल्य निर्धारण गरेको थियो । यस वर्षका लागि उद्योगले प्रतिक्विन्टल ६२० र सरकारले अनुदानबापत ७० रुपैयाँ दिनेछ । गएको वर्ष उखु प्रतिक्विन्टल ५ सय ८५ र अनुदान ३५ रुपैयाँसहित किसानले प्रतिक्विन्टल ६ सय २० रुपैयाँ पाएका थिए । रासस

