चितवन – चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।
पशु सेवा कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार भरतपुर महानगरपालिका–२७ मा रहेको गाई फार्ममा यो रोग पुष्टि भएको छ । रत्ननगरमा रहेका गाई फार्ममा पनि खोरेतको लक्षण देखिएको तर प्रयोगशालाबाट नतिजा आइसकेको छैन । डा. न्यौपानेले अहिले रोग देखिएका क्षेत्रमा खोरेतविरुद्धको खोप लगाउने काम भइरहेको जानकारी दिनुभयो । चितवन जिल्लाभरि नै अभियान चलाउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
भाइरसका कारण सर्ने यो खोरेत रोग लागेका गाईभैँसीमा दुईदेखि तीन दिन १०४ डिग्री ज्वरो आउने, जिब्रोको छाला जाने, गर्भ तुहिने, दूध उत्पादन घट्ने, खुट्टामा घाउ हुनेजस्ता लक्षण देखिने गर्छ । बाहिरबाट खरिद गरेर ल्याएका पशुलाई २१ दिनसम्म क्वारेन्टाइनमा राखेर मात्र आफ्नो बथानमा मिसाउन र सङ्क्रमिण देखिएका पशुलाई छुट्टै राखेर उपचार गर्न कार्यालयले आग्रह गरेको छ ।
साथै हरेक फार्ममा जैविक सुरक्षाको विधि अपनाएर वर्षमा दुईपटक खोरेतविरुद्धको खोप लगाउन कार्यालयका प्रमुख डा. न्यौपानेको आग्रह छ । रासस

