कञ्चनपुर / कञ्चनपुरमा पशु चौपायामा खोरेतरोग सार्ने ‘सेरोटाइप ए’ भाइरस भेटिएको छ । शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिकामा पशु चौपायामा खोरेत सार्ने भाइरसको नमूना जाँच गर्दा सङ्क्रमण फेला परेको हो ।
दुई वटा पालिकाका घरपालुवा पशु चौपायामा खोरेत रोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला परेको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीले बताउनुभयो ।
तीन वर्षपछि यो भाइरस देखिएको र विषाणुजन्य सङ्क्रमणबाट खुरफट्टा चौपायामा देखिने गरेको उहाँले जानकारी दिनुभयो । खोरेत सार्ने सात प्रकारका भाइरसमध्ये ‘सेरोटाइप ए’ लाई अलि धेरै जोखिमयुक्त मानिन्छ ।
यो भाइरसबाट चौपाया छिटो सङ्क्रमित हुने हुँदा सावधानी अपनाउन पशु चिकित्सकको आग्रह छ । खोरेतरोग सेरोटाइप ए, ओ, सि, सेट–१, सेट–२, सेट–३ र एशिया–१ नामक भाइरसबाट पुश चौपायामा सर्ने गर्छ ।
जङ्गली जनावर वा छिमेकी भारतका पशुचौपायाबाट ‘सेरोटाइप ए’ भाइरस गाईभैँसी तथा चौपायामा सङ्क्रमण भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।
चौपायाको खुट्टा, मुख, थुनलगायतमा दाग, फोका र घाउ हुने गर्छ । सङ्क्रमण भएमा चौपायामा ज्वरो आउने, र्याल फाल्ने, गर्भिणी चौपाया तुहिने वा पाडापाडी, बाच्छाबाच्छी मर्ने सम्भावना हुन्छ ।
रोग नियन्त्रणको मुख्य उपाय रोग लाग्नुअघि चौपायालाई एफएमडी भ्याक्सिन कम्तीमा ६ देखि १२ महिनामा एकपटक दिनुपर्ने जोशीले बताउनुभएको छ ।
खोरेतको सङ्क्रमण भएका पशुलाई अलग राख्ने, पशु ओसारपसारमा नियन्त्रण गर्ने, गोठ, पशु, औजार, हात कपडा सफा गर्नेलगायत कार्य गरे अरु चौपायालाई खोरेतको सङ्क्रमणबाट जोगाउन सकिन्छ । रासस

