चितवन / बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले प्रदेश सरकारले सुरु गरेको ‘कृषि ज्ञानरत्न’ कार्यक्रमले युवाहरूमा उल्लेखनीय उत्साह थपेको बताउनुभएको छ । चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय परिसरमा बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको बीएसएल टु प्लस प्रयोगशाला भवन को उद्घाटन समारोहमा बोल्दै मन्त्री श्रेष्ठले उक्त धारणा राख्नुभएको हो ।
उहाँका अनुसार स्नातक तह पार गरेका युवाहरूलाई ८ लाख रुपैयाँ, स्नातकोत्तर तहका लागि १० लाख रुपैयाँ, र एमफिल वा पीएचडी अध्ययन तयारीमा रहेका युवाहरूका लागि २२ लाख रुपैयाँसम्मको अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ । “प्रदेशभित्र जुनसुकै विषयमा अध्ययन गरेका युवाहरूले कृषि क्षेत्रमा लाग्ने इच्छा राखेमा यो कार्यक्रमबाट लाभ लिन सक्नेछन्,” मन्त्री श्रेष्ठले बताउनुभयो ।
उहाँले कृषि ज्ञानरत्न कार्यक्रमलाई आर्थिक वर्ष ०८१ / ८२ मा प्रारम्भ गरिएको उल्लेख गर्दै ०८२ / ८३ मा त्यसलाई चार गुणा वृद्धि गर्दै थप विस्तार गरिने जानकारी पनि दिनुभयो । युवालाई विदेश पलायनको विकल्पमा स्वदेशमै उद्यमशीलता र कृषि कर्ममा लाग्न उनले आग्रह गर्नुभयो।
कार्यक्रममा सहभागी बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले विश्वविद्यालयमा अध्ययन–अध्यापन मात्र नभई अनुसन्धान पनि गुणस्तरीय र परिणाममुखी हुनुपर्ने धारणा राख्नुभयो । “नयाँ भवन मात्र पर्याप्त हुँदैन,” उहाँले भन्नुभयो, “अब यो भवन अध्ययन–अनुसन्धान सुदृढ पार्ने आधार बन्नुपर्छ।”
तस्विरः उज्वल चौलागाईं

