चितवन / बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले चितवनको खैरहनी नगरपालिका–४, चैनपुरमा सञ्चालित सफा ऊर्जा उत्पादन प्रा.लि. द्वारा सञ्चालनमा रहेको फोहोर प्रशोधन तथा प्राङ्गारिक मल उत्पादन उद्योगको स्थलगत निरीक्षण गर्नुृभएको छ।
स्थलगत अवलोकनका क्रममा मन्त्री श्रेष्ठसँगै उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष प्रमोद सिंह रानाभाट र उपाध्यक्ष उज्ज्वल चौलागाईं समेत सहभागी थिए । भ्रमणका क्रममा उनीहरूले उद्योगको पूर्वाधार, फोहोर व्यवस्थापन प्रक्रिया, मल उत्पादन प्रणाली तथा वातावरणीय असरसम्बन्धी पक्षहरूबारे अवलोकन गरेका थिए ।
कार्यक्रममा सफा ऊर्जा उत्पादन प्रा.लि. का निर्देशक निर्णय पौडेलले मन्त्रीसहित सहभागी व्यवसायीलाई स्वागत गर्दै उद्योगको उद्देश्य र भावी योजना प्रस्तुत गर्नुभएको थियो । साथै, संस्थाका प्रतिनिधि योगेन्द्र सिंह केसीले कम्पनीले सञ्चालन गर्दै आएको फोहोर संकलन, वर्गीकरण, जैविक प्रशोधन, प्राङ्गारिक मल उत्पादन र वातावरण संरक्षणसँग सम्बन्धित प्रयासबारे विस्तृत जानकारी दिनुभएको थियो ।
उहाँका अनुसार, सफा ऊर्जा उत्पादन प्रा।लि।ले स्थानीय तहहरूसँग सहकार्य गर्दै शहरी तथा बजार क्षेत्रको फोहोर संकलन र प्रशोधनमार्फत वातावरणमैत्री उपायहरू अपनाउँदै आएको छ । हाल उद्योगले दैनिक टनौँको फोहोर प्रशोधन गरी प्राङ्गारिक मल उत्पादन गर्दै कृषकहरूलाई आपूर्ति गर्दै आएको जनाएको छ ।
मन्त्री श्रेष्ठले प्रशोधन उद्योगको पहलको प्रशंसा गर्दै प्रदेश सरकार वातावरण संरक्षण र सतत् कृषि विकासको पक्षमा उभिएको स्पष्ट पार्नुभयो। उहाँले यस्ता उद्योगहरूलाई नीतिगत तथा प्राविधिक सहयोग गर्न सरकार तयार रहेको जनाउँदै, कृषि उत्पादनमा जैविक मलको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
स्थानीयस्तरमा फोहोर व्यवस्थापनसँगै रोजगार सिर्जना र जैविक मल उत्पादनमार्फत कृषि क्षेत्रमा टेवा पुर्याउने यस्ता परियोजनाहरूको प्रभावकारिता अझ बढाउन सार्वजनिक–निजी सहकार्य आवश्यक रहेकोमा सहभागीहरू एकमत देखिएका थिए ।
तस्विरः उज्वल चौलागाईं

