चितवन — गत साता आएको हुरीसहितको वर्षाले चितवन जिल्लामा व्यापक असर पार्दै केराखेतीमा करिब २० प्रतिशत क्षति पुर्याएको छ । केरा उत्पादक सङ्घ चितवनका अध्यक्ष घननाथ महतोका अनुसार विशेषगरी जिल्लाको पूर्वी र पश्चिमी क्षेत्रमा लगाइएको केराखेतीमा असर पुगेको हो ।
उनले जानकारी दिएअनुसार गत बुधबार र बिहीबार कालिका नगरपालिका, चैनपुर, वीरेन्द्रनगर र रत्ननगर क्षेत्रका केराबालीमा हुरीले सिधा क्षति पुर्याएको छ । ती क्षेत्रका बगैचाहरूमा करिब १५ देखि २० प्रतिशतसम्म क्षति पुगेको अनुमान गरिएको छ । यस्तै शुक्रबार आएको अर्को हुरीले भरतपुर महानगरपालिका वडा नं. २३ र २६ साथै ठिमुरा क्षेत्रका केराखेती पनि प्रभावित भएका छन् ।
केराखेती गर्दै आएका कालिका नगरपालिकाका कृषक माधव घिमिरेले उत्पादन लिन केही हप्ता मात्र बाँकी रहेको बेला आएको हुरीले बालीनालीमा ठूलो क्षति पुर्याएको गुनासो गरे । उनका अनुसार हुरीले थुप्रै केराका बोट भाँचिएका छन् भने कतिपयमा फलमै क्षति पुगेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनका सूचना अधिकारी रविकीरण अधिकारीले हुरीले पुर्याएको क्षतिको विवरण सङ्कलन कार्य भइरहेको जानकारी दिए । उनका अनुसार प्रारम्भिक रूपमा केराखेतीमा क्षति पुगेको पुष्टि भए पनि यकिन तथ्यांक केही दिनमै आउनेछ ।
चितवनमा हाल मालभोग, चिनी चम्पा र जि–९ जातका केरा खेती हुँदै आएका छन् । जिल्ला भरमा तीन हजार बिघाभन्दा बढी क्षेत्रफलमा ७०० भन्दाबढी किसान केरा खेतीमा संलग्न छन् । उत्पादनको मुख्य सिजनको मुखमा आएको विपत्तिले कृषकहरूलाई मानसिक र आर्थिक रूपमा समेत प्रभावित पारेको स्थानीयहरूले बताएका छन् ।
कृषकहरूले राज्य र सम्बन्धित निकायलाई क्षतिको यथोचित मूल्याङ्कन गरी राहत तथा प्राविधिक सहयोगको व्यवस्था मिलाउन माग गरेका छन् ।

