भोजपुर / भोजपुरको मानेभञ्याङमा बाँदरको समस्याका कारण स्थानीयवासीले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ ।
रामप्रसादराई गाउँपालिका–५ का स्थानीयवासीले बसाइँसराइ गर्दा बस्ती खण्डहरमा परिणत भएका हुन् । डेढ दशकको अवधिमा यो क्षेत्रबाट झन्डै एक सय ५० घरपरिवार अन्यत्र जाँदा बस्ती नै खण्डहर बनेको स्थानीयवासी तथा भानुभक्त प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रकाश पराजुलीले बताउनुभयो ।
मुख्य रूपमा बाँदर र पानीको समस्याले बसाइँसराइ बढ्दा अर्चले, भोर्लेनी, दमाईछाँप, गुराँसे राणागाउँ, थाक्ले र मोहोरिय बस्ती खालीझै बनेको पराजुलीले बताउनुभयो । साविकको वडा नम्बर ८ र ९ पर्ने यी क्षेत्रबाट ९८ प्रतिशतको हारहारीमा मानिसहरूले गाउँ छाडेर अन्यत्र गइसकेको उहाँकाे भनाइ छ ।
त्यस्तै गुराँसे, राणागाउँमा ६५ घर रहेकामा अहिले ३५ र मोहोरियामा ८० घरपरिवारमा अहिले ३५ घरपरिवार मात्र बाँकी रहेको शिक्षक पराजुलीले बताउनुभयो । उहाँका अनुसार बाक्लो मानवबस्ती रहेका धेरै वटा गाउँ खण्डहर बनेका छन् ।
राज्यले बाँदर नियन्त्रणसँगै खाली रहेका बाँझो जमिनलाई प्रयोगमा ल्याउने खालका कार्यक्रम नल्याए अझै धेरै बस्ती खण्डहर बन्ने अवस्था रहेको स्थानीय जगतमान तामाङले बताउनुभयो । बाँदरका कारण धेरै किसानलाई समस्या भइरहेको छ । रासस

