बाँके / सरकारले अघि बढाएको नस्ल सुधार कार्यक्रमअन्तर्गत बाँकेको खजुरामा कृत्रिम गर्भाधानबाट भैँसीले पाडो जन्माएको छ । खजुरा गाउँपालिका–२ एल गाउँ निवासी किसान बमराज रेग्मीको भैँसीले भारतबाट ल्याइएको मुर्रा राँगाको वीर्यबाट पाडो जन्माएको हो ।
पशुपालनका माध्यमबाट किसानको जीवनस्तर उकास्ने उद्देश्यले सरकारले नस्ल सुधार कार्यक्रम सञ्चालन गरेको हो । राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्ज गौघाटबाट मुर्रा राँगाको वीर्य खरिद गरी कृत्रिम गर्भाधान गराएको भैँसीले पाडो जन्माएको किसान रेग्मीले जानकारी दिनुभयो । योसँगै उहाँले मुर्रा राँगाको वीर्य परीक्षण सफल भएको तथा उन्नत जातका पाडापाडी उत्पादनबाट पशुपालनलाई आधुनिकीकरणतर्फ उन्मुख गराउन सहज हुने बताउनुभयो ।
भैँसीमा गर्भ नरोकिने समस्या देखिएको थियो, त्यही बेला राष्ट्रिय पशु प्रजनन कार्यालयमा मुर्रा राँगा आएकाले प्रयास गरेको सफल भयो, रेग्मीले भन्नुभयो, स्वस्थ पाडो जन्मिएको छ, भैँसीले दूध पनि राम्रै दिएको छ । मुर्रा राँगाको वीर्यबाट जन्मिएको उन्नत जातको पाडोलाई हुर्काएर गाउँका अन्य भैँसीमा नस्ल सुधारमा प्रयोग गर्न सकिने उहाँको भनाइ छ ।
राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्ज गौघाटले भारत सरकारले अनुदानमा दिएको उन्नत जातको मुर्रा राँगाबाट गएको वर्षदेखि वीर्य सङ्कलन शुरू गरी किसानलाई बिक्री/वितरण गर्दै आएको कार्यालय प्रमुख पशु विकास अधिकृत डा. खिमानन्द खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार गएको वर्ष मङ्सिर ६ गते नेपालगञ्ज ल्याइएका ती राँगा ७ गते राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाट ल्याइएको थिए । नेपाल ल्याइएका १५ मुर्रा राँगामध्ये नेपालगञ्ज कार्यालयमा ३ वटा राँगा राखिएका छन् । गौघाटमा राखिएका तीन राँगामध्ये २ बाट वीर्य उत्पादन गरी सङ्कलन तथा किसानलाई वितरणको काम गरिएको छ ।
खजुरामा मुर्रा राँगाको वीर्यबाट जन्मिएको पाडोलाई ५० प्रतिशत मुर्रा जातको प्रमाणपत्र दिन सकिने राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाटका पशु सेवा प्राविधिक देवनारायण जैसीले जानकारी दिनुभयो ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतले नेपाललाई नस्ल सुधार कार्यक्रमका लागि उपहार स्वरूप मुर्रा राँगा दिएको थियो । रासस

