काठमाण्डाै / यस वर्ष पोहोरको तुलनामा धानको उत्पादन बढेको छ । आज सार्वजनिक भएको तथ्यांक अनुसार यस वर्ष ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन धान उत्पादन भएको हो । यो पोहोरको तुलनामा ४ दशमलव ०४ प्रतिशतले धेरै हो । पोहोर ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन धान फलेको थियो ।
समयमै मनसुन भित्रिँदा रोपाइ गर्न सहज, बेलैमा मलखादको व्यवस्थापन, उन्नत जातको बीउलगायतका कारणले यस वर्ष धानको उत्पादन बढेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले धान बालीको उत्पादन अनुमान गरेभन्दा बढी भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता एवम् सहसचिव डा. मतिना जोशी वैद्यले यस वर्ष धान बाली लगाएको क्षेत्रफलमा सामान्य कमी आउँदा पनि उत्पादकत्वमा वृद्धि भएको जानकारी दिनुभयो ।
बर्खे र चैते दुवै गरी १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान लगाइएको मन्त्रालयको अनुमान छ । यो गएको वर्षको तुलनामा १ दशमलव २८ प्रतिशत कम हो ।

