उदयपुर / कटारी नगरपालिका–८ का किसान बाँदर, दुम्सी, सुगालगायतका वन्यजन्तुबाट खेतीबाली जोगाउन समस्या भएपछि वैकल्पिक खेतीमा आकर्षित भएका छन् । मकै, कोदोबालीलाई जङ्गली पशुपक्षीले क्षति गर्न थालेपछि धेरैजसो किसानले केराखेती गर्न थालेका हुन् ।
केराखेतीबाट राम्रै आम्दानी हुन थालेपछि आफूहरू व्यावसायिक रूपमै खेती गर्न थालेको किसान लाखबहादुर राईले बताउनुभयो । उहाँको बगैँचामा चार सय जति केराका बोट छन् । भोटाङ्गे, मर्चे, जहाजी जातका केराखेती गरिरहेका किसानको मुख्य बजार पहाडी जिल्ला सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ बनेको छ ।
व्यापारी घरमै केरा लिन आउने हुँदा किसान आफैँले बजार लैजानुपर्ने झन्झट पनि हटेको कटारी–८ ढापटारका रत्नबहादुर विश्वकर्माले बताउनुभयो । पाखो झाडी सफा गरेर केराखेती शुरु गरेका किसानले यसैलाई पहिलो नगदे बालीका रूपमा प्राथमिकता दिन थालेको कटारी–८ वडाध्यक्ष नवीन्द्र तामाङले बताउनुभयो ।
वडाध्यक्ष तामाङका अनुसार हलेदे, मरुवाखानी, केराबारी, पटना, कवासे, गेरु, सिक्रे, ढापटार, वड्मी, माटे, खलङ्गेका गरी चार सय ५० भन्दा धेरै किसानले केराखेती गर्दै आइरहेका छन् । परम्परागत अन्नखेती भन्दा केराबाट तेब्बर आम्दानी हुने गरेको किसान बताउँछन् । रासस

