सिरहा /
ज्यूँदै मर्याको भनि नाम छ कस्को ?
उद्यमबिना बित्तछ काल जस्को ।
आदिकवि भानुभक्त आचार्यको प्रश्नोत्तरी कविताका यी पङ्क्ति उद्यम गर्नेका लागि प्रेरित छन् । तर धेरैले यसको भाव अनुशरण गरेका हुँदैनन् । अझ राजनीतिमा सक्रिय अधिकांश मानिसहरू त कुनै इलमबिनै रहरलाग्दो जीवन बाँचिरहेका पनि देखिन्छन् । एकपटक सार्वजनिक लाभको पद र जिम्मेवारी बहन गरिसकेपछि बाँकी के चाहियो र ? भन्नेहरू पनि छन् । तर यो धारणा सधैँ र सबैका लागि लागू नहुनसक्छ । त्यसैको उदाहरण हुन् सिरहाको धनगढीमाई नगरपालिकाका पूर्वप्रमुख हरिनारायण चौधरी ।
विसं २०७४ को स्थानीय निर्वाचनबाट नगरप्रमुख भएका चौधरीले आफ्नो कार्यकाल सकिएसँगै राजनीतिसँगै कृषिलाई मुख्य पेसा बनाएकाछन् । “सार्वजनिक पदमा हुँदा वा नहुँदा पनि मैले कृषिकर्म छोडिनँ । मलाई माटोमा नङ्ग्रा खियाउन, भकारो सोर्न, डोको बोक्न कहिल्यै अप्ठ्यारो लागेन । मेरो यो कर्म पछिल्लो एक दशकदेखि चलिरहेको छ”, चौधरीले भने, “नगरप्रमुखको जिम्मेवारी सकिएपछि त झनै सक्रियताका साथ लागेको छु । काम त गरिखानुपर्यो नि सबैले ।”
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्यसमेत रहेका चौधरीले आफ्नो आम्दानीको स्रोत नै कृषि पेसा बताए । उनले डेढ बिघामा तोरी, दुई बिघामा हिउँदे मकै र अढाई बिघामा घाँसखेती गरिरहेकाछन् । एउटै याममा १५ क्विन्टल तोरी, ९० क्विन्टल हिउँदे मकै र घाँस तथा बीउ बेचेर करिब रु १० लाखसम्म आम्दानी हुने गरेको उनले सुनाए ।
“राजनीतिमा नाम छ तर आर्थिकरूपमा जीवन धान्न धौधौ छ । राजनीति विशुद्ध समाजसेवा हो । त्यसैले परिवारको जोहो टार्न र जीवनयापन गर्न केही त गर्नैपर्छ”, चौधरी भन्छन्, “त्यसैकारण मैले व्यावसायिक कृषि सुरु गरेको हुँ । अहिले राजनीतिमा मात्रै हुँदाजस्तो आर्थिक अभाव झेल्नुपरेको छैन ।”
उनी सार्वजनिक पदधारण गरेका हरेक व्यक्तिको जीवनशैली पारदर्शी हुनुपर्ने भन्दै त्यसको उदाहरण आफैँबाट सुरु गर्नुपर्ने मान्यतासहित उद्यममा जोडिएको बताए । “सार्वजनिक ओहोदामा रहेका व्यक्तिबारे गलत धारणा छ । काम नगरेरै बाँचिरहेका छन् भन्ने आरोप बारम्बार सुन्नुपरिरहेको छ । त्यो स्वाभाविक पनि हो ।
समाजलाई डोहोर्याउने जिम्मेवारीमा रहेका नेतृत्वकर्मीले बोलेरभन्दा पनि व्यवहारबाटै जवाफ दिन आवश्यक छ । अहिले कृषिकर्ममा जोडिएपछि मैले परिवारको जीवनयापन सहजरूपमा गर्न सकेको छु । साथै राजनीतिकर्मीका रूपमा लाग्ने गरेको आरोपबाट पनि मुक्ति मिलेको आभास हुने गरेको छ”, उनले भने ।
राजनीतिकर्मी वा सार्वजनिक ओहदामा बसेका व्यक्तिलाई उद्यमबाट आर्जेको पैसाभन्दा त्यसबाट कमाएको इमान र प्रतिष्ठाले अझ बढी खुसी मिल्ने गरेको बताउने चौधरीले अहिले तीन छोराछोरीको पढाइ, घरपरिवारको लालनपालन र आवश्यकतामा ढुक्कले दुई पैसा खर्च गर्ने साहस पनि बढेको बताए ।
चौधरीको व्यावसायिक कृषिकर्ममा बढेको लगावले परिवारको आम्दानीमात्रै बढेको छैन त्यसबाट आर्जेको सामाजिक प्रतिष्ठाले अझ बढी खुसी दिने गरेको छ । त्यो खुसीले उनकी श्रीमती बचकुनदेवी चौधरीको खुसीको दायरा पनि फराकिलो बनाएको छ । “गाउँघरमा राजनीतिकर्मी केही गर्दैनन् भन्ने आरोप सुन्छु । पहिले मेरो श्रीमान्को पनि कुरा काटेको सुन्थेँ । मन अमिलो हुन्थ्यो”, बचकुनदेवीले भनिन्, “श्रीमान्ले राजनीतिलाई समाजसेवा र कृषिकर्मलाई आम्दानीको स्रोतका रूपमा अपनाएपछि अहिले भने राम्रो प्रतिक्रिया सुन्छु । त्यसो सुन्दा राजनीतिक नाम, पद, पैसाभन्दा उद्यमबाट आर्जेको प्रतिष्ठा ठूलो हुँदोरहेछ जस्तो लाग्यो । र यसले निकै खुसी हुन्छ ।”
चौधरीले कृषिकर्म गरे पनि पार्टी काम छोडेकाछैनन् । त्यसरी राजनीतकर्ममा व्यस्त भएका बेला खेतीपाती सम्हाल्ने सारथी पनि श्रीमती बचकुनदेवी नै हुन् । रासस

