काठमाडौं / नेपाल र दक्षिण कोरिया बीच कृषि क्षेत्रमा सहकार्य सम्बन्धी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार कृषि विकास मन्त्रालयमा आयोजित एक कार्यक्रममा कृषि मन्त्री डा वेदुराम भुसाल र दक्षिण कोरियाका कृषि खाद्य तथा ग्रामिण सुरक्षा मन्त्री चुङ्ग हवानकेउन बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी अनुसार नेपालीको कृषि तथा पशुपन्छी क्षेत्रको विकासमा दक्षिण कोरिया सरकारले सहयोग गर्नेछ । समझदारीपछि बोल्दै दक्षिण कोरियाका कृषिमन्त्री हवानकेउनले नेपालमा दुग्ध उत्पादन वृद्धि र कृषि उपजमा सहयोग गर्न बाटो खुलेको बताउनुभयो । नेपाल र कोरियाबीच श्रम जनशक्तिमा सहकार्यपछि कृषि क्षेत्रमा भएको समझदारीले आफू उत्साहित भएको उहाँले बताउनुभयो ।
यो समझदारीले नेपालको दुग्ध उत्पादन वृद्धि, धान उत्पादन र तरकारी तथा पसलाजन्य बाली विकासमा कोरियाले सघाउने हवानकेउनले बताउनुभयो । कार्यक्रममा नेपाली समकक्षी भुसालले यो समझदारी दुई देशबीचको सम्बन्धमा कोसेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो ।

