चितवन / प्रेस चौतारी चितवनका सदस्य एवम् जिल्लाका क्रियाशील पत्रकार निराजन घिमिरेले व्यवसायिक फूलखेती लगाउनुभएको छ। पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं–१६, भद्रकालीमा पाँच कट्ठा क्षेत्रफलमा उनले फूलखेती गर्नुभएको हो । पत्रकार घिमिरेले पाँच कट्ठा क्षेत्रफलमा फूलखेती गर्न ३५ हजार मात्र लगानी गर्नुभएको छ ।
उहाँले फूल बिक्रीबाट तीन लाख बढी आम्दानी हुने अपेक्षा राखेको बताउनुभयो । एककपटक हुर्केको बिरूवाबाट चारपटकसम्म फूल उत्पादन हुने उहाँले बताउनुभयो । तिहारलाई लक्षित गरी २ हजार माला तयार हुने गरी फूल उत्पादन गरेको घिमिरेले जानकारी दिनुभयो । बजारमा अहिले प्रतिमाला १०० र प्रतिकिलो ४०० रूपैयाँसम्ममा बिक्री हुने गरेको छ ।
तिहारका बेलामा भारतबाट समेत फूल आयात हुने गरेको कुरा सुन्दा दुःख लागेको भन्दै आफैंले पनि फूल उत्पादन गरेर परनिर्भरता हटाएर आत्मनिर्भर बन्न सकिने पत्रकार घिमिरेले बताउनुभयो। उहाँले व्यवसायिक फूलखेतीबाट सफल भए यसमा आफूले फाइदा देखेको बताउनुभयो ।
रत्ननगरमा पाँच बिघा क्षेत्रफलमा ५० हजार मालाका लागि पुग्ने फूल उत्पादन गरिएको छ । तीनवटा कृषक समूहसहित एक दर्जन बढी किसानहरुले यसै वर्षदेखि व्यावसायिकरुपमा फूलखेती गरेका छन् ।
नगरपालिकाले व्यावसायिक फूलखेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्लास्टिकजन्य वस्तुबाट बनेको माला बिक्रीमा रोक लगाएको छ । नगरपालिकाले सूचना जारी गरी नगरभित्रका बजारमा प्लास्टिकजन्य वस्तुबाट बनेको माला बिक्रीवितरण तथा प्रयोगमा रोक लगाएको हो ।

