चितवन / चितवनमा पर्व विशेष मेला हुने भएको छ । दसैँलगायतका पर्वलाई लक्षित गरी स्वदेशी उद्योग र उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले असोज ३ गतेदेखि कात्तिक २ गतेसम्म मेला हुन लागेको हो ।
चितवन उद्योग संघको आयोजनामा हुन लागेको मेला चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुने संघले आज गरेको पत्रकार सम्मेलनमा जनाइएको छ । मेलाअन्तर्गत नेपाली जुत्ता घरसँगको सहकार्यमा स्वदेशीजुत्ता–चप्पलको प्रदर्शनी तथा प्रवद्र्धन हुनेछ भने लत्ता कपडाको लागि विभिन्न जिल्लाका गार्मेन्ट उद्योगीसँग सहकार्य गरिने संघले जनाएको छ ।
मेलामा स्वदेशी जुत्ता चप्पल, खाद्यान्न, लत्ताकपडा, खसी, बोकालगायतकाउपभोग्य वस्तुहरु उपलब्ध हुने छन् । करिब दुई लाख स्वदेशी तथा विदेशी अवलोकनकर्ता र ग्राहकहरुले भ्रमण गर्ने अनुमान गरिएको मेलामा करिब १० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ । बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म हुने मेलामा प्रवेश निःशुल्क रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
मेलामा १३ वटा उद्योगको स्टल हुने संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिनुभयो । अध्यक्ष कँडेलले स्वदेशी उद्योग र उत्पादनलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्ने उद्देश्यले मेला गर्न लागिएको बताए । मेलाले स्वदेशी उत्पादन बढाउने र आम उपभोक्तालाई स्वदेशी उत्पादन प्रयोग गर्ने बानी पार्नको लागि मेला आयोजना गर्न लागेको अध्यक्ष कँडेलको भनाइ छ ।
त्यस्तै पर्वको लागि आवश्यक खाद्यान्नहरुको स्टलका लागि स्थानीय उद्योगी, व्यवसायीहरुलाई समेत आव्हान गरिएको छ । स्थानीयस्तरमा कृषि तथा पशुपंक्षी पालन व्यवसायमा जोडिएको उद्यमीहरुसँग आवश्यक सहकार्य गरी मेलाको अन्तिम हप्ता दसैँका लागि आवश्यक पर्ने खसी, बोका, भेडा च्याङ्ग्रा, हाँस लगायतका मासुजन्य उत्पादनहरुको स्टलको व्यवस्था गर्ने योजना रहेको उद्योग संघले जनाएको छ ।

