चितवन / चितवनको इच्छाकामना गाउँपालिकासंग किसानले आफ्नो १० बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । अखिल नेपाल किसान महासंघ इच्छाकामना गाउँ कमिटिले इच्छाकामना गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा लम्पी स्किन रोगलाई महामारी घोषणा गर्ने देखि बेरोजगार किसान युवालाई रोजगारीको व्यवस्था हुनुपर्ने समेत उल्लेख गरिएको छ ।
लम्पी स्किन रोगका कारण पशुवस्तुलाई पुगेको क्षतीको राहत र प्याकेजको कार्यक्रमको माग गरिएको छ । रोग नियन्त्रणको लागि प्रयाप्त भ्याक्सिनको व्यवस्था गरी प्राविधिक सहित द्रुत गतिमा किसानलाई सेवा उपलब्ध गराउन माग गरिएको छ ।
लम्पी स्किन रोगबाट मरेका पशुको बास्तविक लागत संकलन गर्नपनि माग गरिएको छ । क्षती भएका पशुपालक कृषकहरुको कर्जा मिनाहा गर्ने माग पनि राखिएको छ । पीडित किसानलाई सहुलियत दरको कर्जा सरल विधिबाट किसानको आवश्यकता अनुसार उपलव्ध गराउन माग गरिएको छ ।
बाढि पहिरो र डुवानबाट क्षति पुगेको किसानलाई राहत र पूर्नस्थापनाका लागि बिशेष ध्यान दिन माग गरिएको अखिल नेपाल किसान महासंघ इच्छाकामना गाउँ कमिटिका अध्यक्ष भुपेन्द्र चेपाङ्गले जानकारी दिनुभयो ।

