चितवन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो फेसवुकको स्टाटसमा बाँदरले मकै खाएर दुःख दिएको तस्विर पोष्ट गर्नुभएको छ । केही समय अगाडी पोष्ट गरिएको अन्य कुनै बिषयको कमेन्टमा यो तस्विर आएपछि आफ्नो ध्यानआकर्षण भएको जनाउँदै उहाँले यो तस्विर आफ्नो वालमा सार्वजानिक गर्नुभएको हो ।
ओलीले तीन दिनअघि लेखेको फेसबुक स्ट्याटसमा खगेन्द्र पाण्डेले यस्तै बाँदर आतंकको हृदयविदारक फोटो रिप्लाइ गर्नुभएको थियो । जुन फोटोमा बँदरले मकै खाएर खोष्टा मात्र रहेको ठाउँमा कृषक सुतिरहेका थिए । यही फोटोमाथि प्रतिक्रिया जनाउँदै ओलीले कहिलेकाहीँ आफूले लेखेका पोस्टमा गरिएका कमेन्ट पढ्दै जाँदा ताली र गाली मात्र होइन, हाम्रा समस्याका तस्बिर पनि आउने बताउनुभएको छ ।
‘तीन दिनअगाडिको पोस्टमा आएका प्रतिक्रिया हेर्दै जाँदा खगेन्द्र पाण्डेले पोस्ट गर्नु भएको मकै बारीमा बाँदर आतङ्कको कारुणिक तस्बिरमा आँखा पुगे। हेर्दा साधारण लाग्ने यो तस्बिरले मन भने पोलिरह्यो,’ उनले लेखेका छन्, ‘उहाँले तस्बिर पोस्ट गर्दै लेख्नु भएको रहेछ( यसबारे पनि केही बोल्नू। हो, अवश्य । बोल्नै पर्छ।’
उहाँले बोल्ने मात्र होइन तत्काल समाधान हुनेगरी कदम पनि चाल्नु पनि पर्ने बताउनुभएको छ । ‘तपाईंको जानकारीका लागि हामी सरकारमा रहेका बेला स्थानीय तहमार्फत् यसको केही सुरुवात पनि गरेका थियौं, जुन पर्याप्त नहुन सक्छ । अहिले पनि त्यसलाई निरन्तता दिँदै थप ध्यान दिनु आवश्यक छ। सबैलाई प्रतिक्रियाको लागि आग्रह गर्दछु। खगेन्द्र पाण्डेलाई धेरै धेरै धन्यवाद,’ उहाँले लेख्नुभएको छ ।


