चितवन । नेपालबाट चिन घाँस निर्यात सुरु भएको छ । चितवनको भरतपुर महानगरपालिकामा उत्पादन गरिएको ३ हजार टन घाँस चिन पठाउँदै घाँस निर्यातको सुरुवात गरिएको छ । नेपालमा उत्पादित पशुआहार (हाइलेज) पहिलो पटक चीन निर्यात भएको हो ।
नेपाली उत्पादन पशुआहारलाई चिन पठाउनका लागि सन् २०२२मा दुई देश विच सम्झौता भएको थियो । सोही सम्झौता अनुसार पहिलो चरणमा आज ३ हजार टन घाँस चिन पठाइएको बताइएको छ ।

नेपाली कृषिजन्य उत्पादन बढाएर निर्यातका लागि विभिन्न अवसरको खोजी गर्ने क्रममा सन् २००१ मै नेपाल र चीनबीच कृषिमा सहयोग आदानप्रदान गर्ने विषयमा सम्झौता भएको थियो । नेपालमा उत्पादित पशुआहारलाई चीन पठाउने विषयमा सन् २०२२ मै सम्झौता भएको थियो ।
नेपालमा उत्पादित पशुआहार चीन निर्यातको सुरुवात कार्यक्रमको उद्घाटन गर्दै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले देशको व्यपार घाटा कम गर्नका लागि यस्ता वस्तुको निर्यातले सहयोग पुग्ने बताउनुभयो ।

समृद्धिको कार्यभार पूरा गर्न देशको व्यापार घाटालाई कम गर्ने र त्यसका निम्ति आयात प्रतिस्थापन गरेर निर्याततर्फ काम गर्नुपर्ने उहाँले बताउनुभयो । थप नयाँ सम्भावनको खोजी गर्नुपर्ने बताउदै उहाँले यथास्थितिमा बसिरहन नहुने बताउनुभयो ।
व्यापार घाटा कम गर्ने र सफल रुपमा देशलाई विकास र समृद्धिको दिशामा फड्को मार्ने तिर लान जरुरी रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो । पशुआहार निर्यातलाई अवसरको रुपमा लिएको बताउदै उहाँले सरकारका तर्फबाट गर्नुपर्ने अन्य सहयोगका लागि सधैँ तयार रहेको बताउनुभयो ।

कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले कृषि उत्पादनलाई बढाएर निर्यात गर्न सकेमा देशको अर्थतन्त्र बलियो हुने बताउनुभयो । कृषि उत्पादन बढाउन सकेमा देशको अर्थतन्त्र बलियो हुने बताउदै उहाँले नेपालमा घाँस उत्पादन गरेर चीन निर्यात गर्न सफल भएको भन्दै उहाँले बाँझो जमिनमा घाँस उत्पादन अभियान चलाउन सकिने बताउनुभयो ।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल र चीनबीचको सम्बन्ध निकै पुरानो भएको भन्दै आजदेखि चीन नेपालबाट पशु आहार जान सुरु गरेकामा खुसी व्यक्त गर्नुभयो । गुणस्तरीय उत्पादनमा जोड दिँदै उहाँले चिनियाँ बजार ठूलो भएकाले उत्पादन बढाउन सुझाव दिनुभयो ।

कार्यक्रममा चीनको सिगात्से सहरका उपप्रमुख लिउ हउ झोङले भरतपुर महानगरसँग यसअघि नै भगिनी सम्बन्ध कायम भएको जिकिर गर्दै यहाँबाट पशुआहार लैजान सुरु गरिएकामा खुसी व्यक्त गर्नुभयो । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले यहाँ उत्पादित पशुआहार चीनको सिगात्से पठाउन पाएकामा महानगरले गर्व गरेको बताउनुभयो ।

