काठमाण्डौ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९–०८० मा देशभरि चैते र वर्षे सिजनको धान गरी कूल धान लगाइएको क्षेत्रफल १४ लाख ४७ हजार ७ सय ८९ हेक्टर रहेको छ । मन्त्रालयका अनुसार आव २०७९–०८० मा देशभरि ५४ लाख ८६ हजार ४ सय ७२ मेट्रिक टन धान फलेको अनुमान छ ।
यो अघिल्लो वर्षको तुलनामा ६.९४ प्रतिशतले बढी हो । गत वर्ष ५१ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । नेपालमा धेरै धान उत्पादन चाहिँ आव २०७७–०७८ मा भएको थियो । उक्त वर्ष ५६ लाख २१ हजार मेट्रिक टन धान फलेको थियो ।
नेपालमा जुन १३ देखि अक्टोबर २ सम्म मनसुन सक्रिय रहन्छ । जल तथा मौसम विज्ञान विभागले यसवर्ष औसतभन्दा करिब ३५ देखि ५५ प्रतिशत कम वर्षा हुने अनुमान गरेको छ ।
जसका कारण धानबालीमा त्यसको असर पर्ने जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले बताउनुभएको छ । पर्याप्त पानी नपर्दा धानबालीमा पर्ने असर र त्यसले निम्त्याउने जोखिमबाट जोगिनका लागि पूर्वतयारी गर्नु निकै चुनौतीपूर्ण रहने उहाँले बताउनुभयो ।

