काठमाण्डौं । पछिल्लो समय पशु देखिएको लम्पी स्किन संक्रमणका कारण किसानहरू त्रसित भएका छन् । हालसम्म यस संक्रमणका कारण २१ हजार चार सय ३१ वटा पशु मरिसकेका छन् । पशु विभागका अनुसार हालसम्म ६ लाख आठ हजार दुई सय २५ पशु संक्रमित भएका छन् । जसमध्ये एक लाख ३६ हजार पशुमा खोप लगाइएको छ ।
कर्णाली प्रदेशमा सबैभन्दा धेरै पशु संक्रमित भएको विभागले जनाएको छ । उक्त प्रदेशमा हालसम्म एक लाख ८७ हजार आठ सय ३९ पशु संक्रमित छन् । संक्रमणका कारण सुदूरपश्चिममा नौ हजार एक सय ९१ पशुको मृत्यु भएको छ । कोसी प्रदेशमा भने हालसम्म सबैभन्दा धेरै संक्रमित पशुलाई खोप लगाइएको पशु विभागले जनाएको छ । विभागका अनुसार हालसम्म कोसी प्रदेशमा ७२ हजार ४९ खोप लगाइएको छ ।
नियन्त्रण गर्न छैन सरकारको ठोस तयारी
लम्पी स्किनको बढ्दो संक्रमण ग्राफसँगै पशु मर्नेको संख्या बढिरहँदा सरकार नियन्त्रणका लागि गम्भीर भएको देखिँदैन । समयमै किसानलाई खोपको बारेमा जानकार नहुँदा धेरै पशु मरेको किसान महासंघ समूहका अध्यक्ष नवराज बस्नेतले जानकारी दिए । उनले भने, ‘संक्रमण गाउँ–गाउँमा तीव्र गतिमा फैलिएको छ, कतिपय किसानलाई रोगको बारेमा थाहा नहुँदा र खोप समयमै उपलब्ध नहुँदा धेरै क्षति हुन पुगेको हो ।’ रोगको बारेमा थाहा नहुने धेरै पशुहरू एकैगोठमा बाँधिने हुँदा संक्रमण दर अझ बढेको उनको भनाइ छ ।
विशेष गरी यस रोगको संक्रमण गाई, भैँसी, राँगा, बाछाबाछी, पाडापाडीमा सर्ने विभागले जनाएको छ । लामखुट्टे, किर्ना भुसुना, रगत चुस्ने झिँगालगायत संक्रमणबाट एकबाट अर्को पशुमा सर्ने हुँदा छिटो संक्रमणको दर बढेको विभागको भनाइ छ । नेपाल पशु विभागका डा। चन्द्रप्रसाद ढकालले खोप लगाउने र प्रचारप्रसारको कामलाई निरन्तरता दिएको जिकिर गरे ।
गर्मी महिनामा निकै फैलिने यो रोग लामखुट्टे, रगत चुस्ने झिँगालगायतबाट बचाउनुपर्ने र खोपको आपूर्ति व्यवस्था बढाउने प्रयास भइरहेको उनको भनाइ छ । डा। ढकालले भने, ‘हामीले सातवटै प्रदेशमा टोली खटाएर स्थानीयस्तरबाट खोपलाई प्राथमिकता दिएका छौँ, एकैपटक नियन्त्रण आउन त सक्दैन, तर अहिलेको विकल्प, किसानलाई रोगको बारेमा जानकारी र रोगको प्राथमिक उपचार र खोप नै अन्तिम हो ।’
ठ्याक्कै उपचार हालसम्म छैन
डा चन्द्र ढकाल, प्रवक्ता, पशु विभाग
यो एक प्रकारको भाइरस हो । यसको ठ्याक्कै उपचार हालसम्म छैन । त्यसैले खोपसँगै किसान आफैँले यसलाई हेरचाह गरी संक्रमणबाट बचाउनुपर्छ । यो अहिले नै तत्काल घटिहाल्छ भन्ने होइन ।हामीले अहिले स्थानीय तहबाटै टोली खटाएर, किसानलाई परामर्श र रोग नियन्त्रणका उपाय र यसको प्राथमिक उपचारबारे जानकारी दिने र खोपको आपूर्तिलाई सहज बनाउने प्रयास गर्दै छौँ ।

