काठमाण्डौ । सत्तारूढ दल नेकपा -माओवादी केन्द्र का उपमहासचिव जनार्दन शर्माले नेपालमा रासायनिक मल कारखानाको आवश्यकता नभएको बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उहाँले यो दाबी गर्नुभएको हो । उपमहासचिव शर्माले अर्गानिक मल कारखानाको भने अवश्यकता रहेको औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, ‘आज रासायनिक मल कारखानाको कुरा आइराखेको छ । नेपालमा रासायनिक मल कारखानाको आवश्यकता छैन । अर्गानिक मल कारखानाको आवश्यकता छ । हामीसँग भएका स्रोत, साधन, खनिजबाट हामी अर्गानिक मल कारखाना बनाउन सक्छौँ । त्यतातर्फ सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’
उपमहासचिव शर्माले कृषिमा आधारित उद्योग स्थापनाका लागि सङ्घीय सरकारले अध्ययन, अनुसन्धान र बजेटको व्यवस्था गर्ने, प्रदेश सरकारले प्रशोधन उद्योगहरू स्थापना गर्ने, चिस्यान केन्द्रहरू स्थापना गर्ने र पालिकाले त्यसको उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । शर्माले कृषि अनुदानको दुरुपयोग हुन नदिन पनि सरकारलाई सचेत गराउनुभयो ।

