चितवन । कालिका नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने सरोकारवालाहरुले सुझाव दिएका छन् । आर्थिक वर्ष २०८० / ०८१ को नीति तथा कार्यक्रम बजेट तयारीका लागि आयोजना गरिएको रायसुझाव संकलन कार्यक्रममा यस्तो सुझाव दिएका हुन ।
वडा नं १ का निवर्तमान वडा अध्यक्ष लिला गुरुङले कालिका नगरपालिका कृषियोग्य नगर भएकाले नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकता दिएर अगाडी बढ्नुपर्ने बताउनुभयो । जुटपानी र पदमपुरमा डीप बोरिङको व्यवस्थापनगर्ने र पहाडी क्षेत्र सिद्धी, शक्तिखोर क्षेत्रमा खोलानालाबाट सिंचाई जोड्नसके कृषि क्षेत्रमा फड्को मार्न सकिने सुझाव दिनुभयो । कालिकामा रहेको तरकारी संकलन केन्द्रलाई पनि संचालनमा ल्याउनुपर्ने उहाँले बताउनुभयो ।
यस्तै वडा नं ५ का निवर्तमान अध्यक्ष कृष्ण श्रेष्ठले नहर व्यवस्थापनलाई नीति तथा कार्यक्रममा समेट्न सुझाव दिनुभयो । खगेरीखोलापारी पट्टी जंगलको बाटो क्षेत्रको हिसावले भरतपुर परेपनि प्रयोगको हिसावले कालिकाबासीले धेरै उपयोगगर्नुपर्ने भएकाले त्यो बाटोलाई केन्द्रीय बजेटका लागि प्राथमिकतामा राख्न समेत सुझाव दिनुभयो ।
कार्यक्रममा निवर्तमान वडा अध्यक्ष डिल्लीराम दवाडीले पशुपालन देखि खेतिकर्ममा नागरिकलाई अभ्यस्त बनाउनुपर्नेमा जोड दिनुभयो । उत्पादनमुखी कार्यक्रम ल्याएर स्वरोजगार बनाउन सके बैदेशिक रोजगारीमा जानेहरुको संख्या घट्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सहकारीकर्मी हिरामणी पोखरेलले हरेक वडामा कृषि प्राविधिक आवश्यक रहेको बताउनुभयो । नगरक्षेत्रमा एउटा स्वच्छ ताजा फलफुल तथा तरकारी बजार आवश्यक रहेको बताउदै उहाँले नगरक्षेत्रमा कृषि प्राविधिक शिक्षालय संचालन गर्न सुझाव दिनुभयो ।

