चितवन । चितवनको कालिका नगरपालिकाका जनप्रतिनिधीले आफ्ना छोराछोरीलाई सरकारी स्कुलमै पढाउन नगरबासीले सुझाव दिएकाछन् । नगरपालिकाले नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्न राखेको कार्यक्रममा सहभागीले यस्तो सुझाव दिएका हुन ।
कार्यक्रममा नेकपा एमाले कालिका नगरकमिटीका अध्यक्ष समेत रहनुभएका केशब लामाले कालिकाका जनप्रतिनिधी सवैले आफ्ना छोराछोरीलाई सरकारी स्कुलमै पढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागीहरुले सरकारी स्कुलमा पढाउने शिक्षकले आफ्ना छोराछोरीलाई नीजी विद्यालयमा पढाउनेगरेको र आफु कार्यरत स्कुलमा कम ध्यान दिनेगरेको गुनासो समेत गरेका थिए । लामाले अव सरकारी स्कुलका शिक्षकले मात्र होइन जनप्रतिनिधीले पनि आफ्ना छोराछोरी सरकारी स्कुलमै पढाउनै पर्ने नीति बनाउदा हुने सुझाव दिनुभयो ।
नगरपालिकाले हरेक बर्ष सवैभन्दा धेरै बजेट शिक्षा क्षेत्रमा खर्च गर्दै आएको तर शैक्षिक गुणस्तरमा सुधार नदेखिएकोले कालिकाका सरकारी विद्यालयमा सुधारका नीति लिनुपर्ने लामाले बताउनुभयो । विद्यालयमा प्राधानाध्यापक प्रतिस्प्रधामा छनौट गर्नुपर्ने लामाले बताउनुभयो । सामुदायिक विद्यालयमा कम योग्याता भएको व्यक्ति प्राधानाध्यपक हुनेगरेका कारण पनि समस्या बढेको उहाँले बताउनुभयो । प्रधानाध्यापकलाई आवासको व्यवस्था गर्नुपर्ने भए गरेरै भएपनि विद्यालयको शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
विद्यालयका भौतिक संरचना बन्नुलाई मात्र उपलव्धी मान्न नहुने बताउदै लामाले परीक्षाको परिणामलाई उपलव्धी मान्नुपर्ने बताउनुभयो । लगानी अनुसारको उपलव्धी नभएकोले शिक्षक र अभिभावकको सुझाव लिएर पालिकाले नीति योजना बनाउनुपर्ने उहाँले बताउनुभयो ।


