चितवन । चितवनको सौराहामा सङ्कटापन्न अवस्थामा रहेको वन कुकुर (ढोँले) संरक्षणका लागि अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको छ । चितवन राष्ट्रिय निकुञ्ज परिसरमा सुरू भएको सम्मेलनमा १३ देशका ४१ जना अनुसन्धानकर्ता छन् ।चितवन निकुञ्जसहित नेपालमा २५० को संख्यामा रहेको वन कुकुर विश्वभर २ हजार ५०० को हाराहारीमा रहेको अनुमान गरिएको छ ।
सन् २०१९ मा थाइल्यान्डमा पहिला अन्तर्राष्ट्रिय सम्मेलन गरेपछि वन कुकुरको अनुसन्धान सुरू गरिएको थियो । वन कुकुरको सङ्कटापन्न स्थितिलाई मध्यनजर गर्दै सन् २०१९ मा पहिलोपटक वन कुकुरको संख्या र आवासको संरक्षण मूल्याङ्कन कार्यका लागि थाइल्यान्डमा पहिलोपटक कार्यशाला गरिएको थियो ।
सौराहामा सुरू भएको सम्मेलनमा वन कुकुरको वैश्विक अवस्था, आहारा प्रजातिको व्यवस्थापन, बासस्थान संरक्षणहरुमाथि बृहत् छलफल गरी ‘वन कुकुर संरक्षण कार्ययोजना’ निर्माण गरिनेछ । सो सम्मेलनले वन कुकुर संरक्षणका लागि विश्वमै पहिलो कार्ययोजना तयार हुनेछ । दक्षिण एसियाली क्षेत्रमा पाइने वन कुकर (ढोँले) आइयुसिएनको रेड लिस्टमा ‘अति सङ्कटापन्न जाति’को रुपमा सूचीकृत बाघपछिको अति दुर्लभ स्तनपायी जनावर हो । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची र नेपालको राष्ट्रिय रातो सूची दुवैमा लोपोन्मुख संरक्षण स्थिति’मा सूचीकृत छ ।

