चितवन । चितवनमा प्राङ्गारिक खेती गर्ने कृषकहरुले प्राङ्गारीक उत्पादन बढेपनि बजारको समस्या भएको बताएकाछन् । जिल्ला प्राङ्गारीक
संघ चितवनले प्राङ्गारीक कृषि प्रमाणीकरण अभियान अन्तर्गत आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले बजार अभावका कारण समस्या बढेको बताएका हुन् ।
भरतपुर १५ फुलवारीमा आयोजना गरिएको कार्यक्रममा प्राङ्गारीक कृषक रमा ढुङानाले जिल्लामा प्राङ्गारीक बाली उत्पादन बढेपनि बजार अभावका कारण समस्या भएको बताउनुभयो । ‘अभियान र सचेतनाका कारण प्राङ्गारीक बाली उत्पादन बढेको छ’ उहाँले भन्नुभयो ‘बिक्री गर्ने बजार नभएका कारण समस्या भयो ।’
कृषक उद्धव अधिकारीले प्राङ्गारीक खेती गर्दा एकैपटक ठुलो स्केलमा गर्नुभन्दा विस्तारै गर्दै जानुपर्ने बताउनुभयो । प्राङ्गारीक खेतीबाट उत्पादन भएको बालीको बजार व्यवस्थापन अझैपनि चुनौती रहेकाले उत्पादन गर्दा ध्यान दिनुपर्ने बताउनुभयो ।
कृषि ज्ञान केन्द्र चितवनका प्रमुख मिन बहादुर पुनले चितवनमा प्राङ्गारीक खेतीबाट उत्पादन भएको बाली र तरकारी विक्री गर्न पसल स्थापना गरिएको भएपनि अहिले बन्द हुन पुगेको बताउनुभयो । ‘बजार व्यवस्थापनका लागि विगतका प्रयासमा केही अपुग देखिएको छ’ उहाँले भन्नुभयो ‘अवको बाटो बजार प्रवद्र्धन हो ।’
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना चितवनका प्रमुख धन बहादुर गुरुङले प्राङ्गारीक खेती मार्फत उत्पादनमा लागत बढेको गुनासो कम हुँदै गएको बताउदै उत्पादनमा लागत घटेपनी“ बजारको समस्या देखिएकोले सवैपक्ष मिलेर बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कृषि विज्ञ डा कृष्ण प्रसाद पौडेलले चितवनमा भएको प्राङ्गारीक खेती बारेमा अनयत्र पनि चासो बढेको बताउनुभयो । प्राङ्गारीक खेती विशेषज्ञ बसन्त रानाभाटले चितवनमा प्राङ्गारीक खेती गर्ने कृषकहरु पुरस्कृत र सम्मानित हुनेक्रम बढेको बताउनुभयो । पछिल्लो समय जिल्लाका २९ जना कृषक थप पुरस्कृत र सम्मानित भएको उहाँले बताउनुभयो ।
भरतपुर महानगरपालिका वडा नम्वर १५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटाले आफुले खाने कुरामा बिषादी प्रयोग नगरौँ भन्ने अभियानलाई अगाडी बढाउनुपर्ने बताउनुभयो । आफ्नो वडा क्षेत्रमा रहेक कृषकलाई प्राङ्गारीक खेती गर्न आफुले आफ्नो क्षेत्रबाट सहयोग गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि रहनुभएको जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले मानव स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने प्राङ्गारीक खेती अभियानलाई थप प्रभावकारी बनाउन राज्यले सहयोग गर्ने बताउनुभयो । उत्पादन भएका बस्तुको बजार व्यवस्थापनका लागि सवै तहका सरकारले सहजीकरण गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा कृषकहरु महेन्द्र प्रसाद पौडेल, अम्विका बगाले, छवीलाल न्यौपाने, दिलिप सिंह गुरुङ लगायतले आफ्ना अनुभव सुनाउनुभएको थियो । खाद्यका लागि कृषि अभियान, कृषि ज्ञान केन्द्र चितवन, प्रधनमन्त्री कृषि अधुनिकीकरण परियोजना, कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन शाखा भरतपुर, प्राङ्गारीक सर्टिफिकेसन नेपालले कार्यक्रममा सहभागिता जनाएका थिए ।

