चितवन । १८ बर्षको उमेरमा रोजगारीका लागि विदेश पुग्नुभएका चितवनका विकास ओझा विदेश छाडेर अहिले पशु आहारको व्यवसायमा लाग्नुभएको छ । चार बर्ष वैदेशिक रोजगारीमा विताउनु भएको ओझाले नेपालमै कृषि उद्यम गर्ने सोचले तिन बर्षदेखि पशु आहारा दाना चोक्कर साईलेजको व्यवसाय गर्दै आउनुभएको छ ।

विके कृषि तथा पशु आहार सप्लायर्स दर्तागरी काम सुरु गर्नुभएको उहाँले अहिले चितवनबाट देशका विभिन्न जिल्लामा पशु आहार विक्री गर्दै आउनुभएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर ६ मा वस्दै आउनुभएका ओझाले पोखारा,विराटनगर,महेन्द्रनगर लगायत ३३ जिल्लामा आफुले सामान पठाउने गरेको बताउनुभयो ।
पाँच लाख रुपैंया लगानीबाट सुरु गरेको काममा अहिले ४० लाख लागनी भएको जानकारी दिदै उहाँले बर्षमा एक करोड ५० लाख रुपैयासम्मको कारोबार हुने गरेको बताउनुभएको छ । विदेशमा वस्दा पशुलाई खुवाइने साइलेजको बिषयमा जानकारी पाएको र नेपालमा गएर आफुले यही काम गर्ने सोच बनाएर फर्किएको उहाँले बताउनुभयो ।

तीन बर्ष अगाडी साइलेजको बिषयमा धेरै कृषकलाई कम ज्ञान रहेको आफु लगायत यस क्षेत्रमा काम गर्नेहरुको समुहले साइलेजको बिषयमा कृषकहरुलाई सचेतना जगाउने काम गरेको ओझाले बताउनुभयो । स्वर्गद्धारी क्याटल फिडका रेशम खड्का,बिबेक केशी र पुरुषोतम खनालले आफुलाई धेरै सहयोग गरेको उहाँले बताउनुभयो ।
पशु दाना उत्पादन गर्ने उद्योगका लागि कच्चा पदार्थ उपलव्ध गराउने काम समेत गर्दै आएको उहाँले बताउनुभयो । घाँस नपाउने मौषममा कृषकलाई घाँसको उपलव्धताको लागि विभिन्न प्रविधि अपनाउदै गएको उहाँले बताउनुभयो । पशु आहारा उत्पादन गर्ने विभिन्न उद्योगसंग सहकार्य गर्दै दाना चोक्कर उत्पादन र विक्री वितरण गर्दै आएको ओझाले बताउनुभयो ।

घाँसको मौषममा विभिन्न कृषकहरुसंग घाँस खरिद गर्ने,मकैको बोटै सहित खरिद गरेर त्यसलाई कच्चा पदार्थको रुपमा उद्योगमा उपलव्ध गराउने तयार भएपछि कृषकलाई उपलव्ध गराउने काम गर्दै आएको उहाँले बताउनुभयो । ठुला कृषि फमका लागि आफैँले साइलेज बनाउन चाहानेहरुका लागि आफुहरुले सिकाउदै आएको पनि ओझाले बताउनुभयो ।
पशु आहार विक्री वितरणमा केही समस्या आउने गरेको उहाँले बताउनुभयो । राज्यका निकायहरुले सहजीकरण र सहयोग गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । कृषि प्रधान देशमा किसानको उद्यममा सहयोगी यस्ता व्यवसायलाई राज्यले प्राथामिकतामा राख्नुपर्ने उहाँ बताउनुहुन्छ ।

